Tuesday, April 16, 2024

बसको ठक्करबाट एक महिलाको मृत्यु, आफन्त उत्रिए आन्दोलनमा

प्रकाशित:

महेन्द्रनगर । वीरेन्द्रनगरमा बसको ठक्करबाट एक महिलाको मृत्यु भएपछि सोमबार बिहानैदेखि आफन्त आन्दोलनमा उत्रिएका छन् ।

उचित क्षतिपूर्ति र चालकलाई कारबाहीको माग गर्दै आन्दोलनमा उत्रिएका आफन्ताहरुले प्रदेश राजधानी वीरेन्द्रनगर बजार बन्द गराएका छन् । आन्दोलनकारीले वीरेन्द्रनगरका मुख्य चोकहरू यरिचोक, मंगलगढी चोक, एयरपोर्ट चोक र बसपार्कमा टायर बालेर सडकअवरुद्ध गरेका छन् ।

आन्दोलनका कारण प्रदेश राजधानी वीरेन्द्रनगरमा चल्ने सवारी साधनहरू ठप्प भएका छन् । छिटपुट मोटरसाइकल बाहेकका अन्य सवारी साधनहरू चल्न सकेका छैनन् । बसको ठकरबाट आइतबार दिउँसो वीरेन्द्रनगर बसपार्कमा जाजरकोटको छेडागाड-६ की ६६ वर्षीय नदी रावतको मृत्यु भएको थियो ।

रावत हाल वीरेन्द्रनगर-१० को बामेखोलामा बस्दै आएकी थिएन । बा ४ ख ८०६१ नम्बरको बसले उनलाई ठक्कर दिएको थियो । तर प्रहरीले मृतकको पहिचान नै नगरेर प्रदेश अस्पताल कालागाउँमा पठाएको थियो । अस्पतालले उनलाई मृत घोषणा गरिदियो ।

बुलुबुले चोकबाट बसपार्क आउँदै गरेको उक्त बसले जेब्रा क्रसिङबाट हिँडिरहेको अवस्थामा रावतलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी लक्ष्मण शाहीले बताए ।

सोही घटनालाई लिएर आफन्तहरूले आइतबार राति १० बजेसम्म बसपार्क, मंगलगढी चोकलगायतका ठाउँमा टायर बालेर आन्दोलन गरिरहेका थिए । उनीहरु सोमबार बिहानैदेखि पुनः आन्दोलनमा उत्रिए छन् । आफन्तलाई नसोधेर शव उठाइएको भन्दै उनीहरू आक्रोशित बनेका छन् ।

ठाउँ-ठाउँमा आन्दोलनकारी र प्रहरी बीच झडप भएको छ । यसका साथै, यातायात व्यवसायमा संलग्नहरू आन्दोलनकारी माथि जाइलागेका छन् । झडपक क्रममा पत्रकारसहित केही व्यक्ति घाइते भएका छन् ।

डिएसपी शाहीका अनुसार बस चालक फरार रहेका छन.  बसलाई नियन्त्रणमा लिइएको र फरार बस चालकको खोजी कार्य भइरहेको उनले बताए ।

 

ताजा समाचार

सम्बन्धित समाचार