Thursday, April 25, 2024

राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचन सम्बन्धी ऐन संशोधन गर्नुपर्छः प्रमुख सचेतक लेखक

प्रकाशित:

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, कानुनको संशोधन गर्नुपर्ने बताएका छन् ।

बिहीबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले संविधानको व्यवस्था र राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी कानुन, ऐनको व्यवस्थाका बीचमा केही विरोधाभाषहरु रहेकाले त्यसलाई समाधान गरेर अघि बढ्न सबै सहमत हुनुपर्ने बताए ।

संविधानले राष्ट्रपतिको निर्वाचन भएकै दिनदेखि कार्यकाल प्रारम्भ हुने भनेको तर ऐनले कार्यकाल समाप्त हुनुभन्दा एक महिना पहिला निर्वाचन गर्नुपर्छ भनेकाले ऐनलाई संशोधन नगरीकन जाँदा प्रत्येक कार्यकालमा एक÷एक महिना घटेर जाने बताए । उनले संविधान र ऐनको भावनमा एकरुपता ल्याउन आफूहरु लाग्ने पनि बताए ।

“राष्ट्रपतिले निर्वाचन भएकै बेला, दिनदेखि कार्यकाल प्रारम्भ हुने भनिएको छ । ऐनको कार्यकाल समाप्त हुनुभन्दा एक महिना पहिला निर्वाचन गर्नुपर्छ भनेको छ । त्यसरी जाँदा ऐनलाई संशोधन नगरी जाने हो भने प्रत्येक कार्यकालमा एक÷एक महिना घटेर जान्छ,” उनले भने, “ऐन संशोधन गर्नुपर्ने अवस्था पनि भएको छ । हामीले हाम्रोतर्फबाट ऐन संशोधन गरेर संविधान र ऐनको भावनामा एकरुपता गरेर मिलाएर जाऔँ भन्ने प्रस्ताव रहन्छ ।”

प्रमुख सचेतक लेखकले ऐनअनुसार गर्दा कार्यकाल घट्ने भएकाले संविधानअनुसार नै संशोधन हुनुपर्ने बताए ।

ताजा समाचार

सम्बन्धित समाचार