महेन्द्रनगर । सशस्त्र प्रहरीले प्रतिबन्धित भारतीय बोइलर कुखुरा बरामद गरेको छ ।

भुडास्थित सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बिओपी) ले बेलौरी नगरपालिका–१० भुडाबाट बोइलर कुखुरा बरामद गरेको हो ।

शनिबार बिहान वरिष्ठ हवल्दार सुरेश धामीको कमाण्डमा खटिएको सशस्त्र टोलीले सीमा क्षेत्रबाट ७० केजी प्रतिबन्धित भारतीय बोइलर कुखुरा बरामद गरेको थियो ।

कुखुरासँगै से १ प ४८८९ नम्बरको मोटरसाईकल पनि बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ ।
बरामद गरिएका १५ हजार मुल्य बराबरको ७० केजी बोइलर कुखुरा पशु क्वारेन्टाइन बेलौरी, जनप्रतिनिधि र स्थानीयको रोहवरमा नष्ट गरिएका छन् ।
चोरी तस्करीको माध्यमबाट खुला सीमा क्षेत्रबाट कुखुरा तथा चल्ला भित्रिन थालेपछि नेपाली कुखुरापालक व्यवसायी मारमा परेको उनीहरुको गुनासो छ ।
कञ्चनपुरसँग जोडिएको भारतीय सीमावर्ती बजारबाट खुलेआम नेपालमा प्रतिबन्धित कुखुरा तथा चल्ला भित्रिने क्रम बढेपछि सशस्त्र प्रहरीले निगरानी बढाएको जनाएको छ । (सीमारेखा)