
महेन्द्रनगर । डडेल्धुराको आलितालमा आफ्नै आमाले बच्चालाई कुटपिट गरेर हत्या गरी खाडलमा पुरिएको अवस्थामा फेला परेको छ ।
जिल्लाको आलिताल गाउँ पालिका–८ पल्टेकुदिमा आफ्नै आमाले छोरालाई कुटपिट गरी हत्या गरेर खाडलमा पुरेको अवस्थामा फेला परेको हो ।
महिलाका अनुसार आफ्नो बच्चा आफ्नो घर छोडेर अरुको घरमा जाने गरेकोले कुटपिट गरेको बताइन् ।
आलितालको समैजी आधारभूत विद्यालयमा कक्षा १ मा अध्यययनरत ८ वर्षीय भरत बोहराको आफ्नै आमा कलमती बोहराले कुटपिट गरि हत्या गरेको स्विकार गरेको प्रहरीले बताएको छ ।
पुस १२ गते राती बच्चालाई आफूले सिस्नो पानी लागाइ उखुको लठ्ठीले कुटपिट गर्दा मृत्यु भए पश्चात् खाडलमा हालेको स्विकारसमेत गरेकी छन् ।
स्थानीयका अनुसार बालकलाई आफ्ना आमा र कान्छी आमाले निरन्तर कुटपिट गर्दै आएका थिए ।
अहिले बालकको शवलाई पोस्टमार्टम गर्न डडेल्धुरा पठाइएको प्रहरी निरीक्षक गंगा दत्त बडुले बताए ।
हत्यामा संलग्न दुवै महिलालाई नियन्त्रणमा लिएको प्रहरिले बताएको छ। बोहरा १२ पुसदेखि बेपत्ता थिए ।
उनको परिवारले समेत उनी हराएको प्रहरीलाई जानकारी दिएका थिएनन् । पुस २७ गते स्थानीयले बालक हराइरहेको सूचना प्रहरीलाई दिएका थिए ।
बालकका बुवा गजेन्द्र बोहरा रोजगारीको सिलसिलामा भारतमा रहेका छन् । स्थानीयकाअनुसार बच्चाको बुवा पनि घटनामा संलग्न रहेको बताएका छन् । बोहरा भारतबाट नेपाल आउँदै गरेको प्रहरीले जनाएको छ ।
