Thursday, April 25, 2024

शिक्षिकाको लापरबाहीका कारण एकजना छात्राको मृत्यु

प्रकाशित:

महेन्द्रनगर । शिक्षिकाको लापरबाहीका कारण सिरहाको एक विद्यालयमा छात्राको मृत्यु भएको छ ।

सिरहाको मिर्चैया नगरपालिका-६ स्थित सगरमाथा माविमा कक्षा ८ मा अध्ययनरत छात्रा १५ वर्षीया सिर्जना कुमारी महराको मृत्यु भएको हो ।

पुस २२ गते पेट दुखेपछि सिर्जनाले औषधी खान पानी मागेकी थिइन् । शिक्षिका अम्बिका लम्सालले पानी भनेर झुक्किएर स्प्रिट दिएको र त्यो खाएपछि सिरहा नगरपालिका-११ भलुवाहीकी सिर्जनाको मृत्यु भएको जानकारी आएको प्रहरीले जनाएको छ ।

सिर्जनालाई उपचारका लागि तत्कालै कर्जन्हास्थित फुलकुमारी महतो मेमोरियल अस्पताल लगिएको थियो । उपचारको क्रममा शनिबार साँझ उनको मृत्यु भएको छ ।

शिक्षिकाको लापरबाहीले मृत्यु भएको भन्दै बिहानैदेखि विद्यार्थीहरु पूर्वपश्चिम राजमार्ग अवरुद्ध गर्दै आन्दोलनमा उत्रेका छन् ।

उनीहरुले बिहानै १० बजेबाटै मिर्चैयास्थित पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारेका छन् । उनीहरुले ईलाका प्रहरी कार्यालय मिर्चैया माथि ढुंगामुढा गरेका छन् ।

ढुंगामुढाबाट कार्यालयमा क्षति पुग्नुको साथै पाँचजना प्रहरी घाइते भएको मिर्चैयाका डिएसपीले बताए ।

ताजा समाचार

सम्बन्धित समाचार