Friday, April 26, 2024

कृषि औजार कारखाना सञ्चालन गर्न ३० करोड आवश्यक

प्रकाशित:

महेन्द्रनगर । ३ दशकदेखि बन्द रहेको वीरगञ्जस्थित कृषि औजार कारखाना पुनः सञ्चालनका लागि तत्कालै ३० करोड बजेट आवश्यक पर्ने देखिएको छ ।

राष्ट्रिय अविष्कार केन्द्रले सरकारलाई बुझाएको प्रतिवेदनमा न्यूनतम् २५ देखि ३० करोड बजेट सरकारबाट प्राप्त भएमा कारखाना सञ्चालन गर्न सकिने उल्लेख छ । अविष्कार केन्द्रका सिनियर मेकानिकल ईन्जिनियर रितेश देवले अविष्कार केन्द्रले सरकारलाई प्रतिवेदन बुझाइ सकेकाले बजेट पास हुनासाथ कारखाना सञ्चालनको काम सुरु हुने बताए ।

राष्ट्रिय अविष्कार केन्द्रका १८ जनाको टिमले पहिलो चरणमा दैनिक १४ घण्टा खटेर कारखाना भित्रका पुराना औजारहरुको सरसफाई, तिनको अवस्था र अनुमानित सञ्चालन खर्चबारे अध्ययन गरेको थियो ।

‘हामीले पुरानो मेसिन मर्मतसम्भारका लागि ७ देखि ८ करोड, विद्युतीकरणका लागि १० करोडसहित कारखाना सञ्चालन गर्न न्युनतम् ३० करोड रकम सरकारसँग माग गरेका छौं, सो रकम निकासा हुनासाथ कारखाना सञ्चालनको काम सुरु हुन्छ,’ मेकानिकल ईन्जिनियर रितेश देवले भने, ‘कारखाना सञ्चालन भएपछि पहिलो चरणमा कुन कुन औजार उत्पादन गर्ने भन्ने विषयमा अहिले कार्यविधि बनाउने काम भइरहेको छ ।’

अविष्कार केन्द्रले गरेको अनुसन्धानका क्रममा कारखानाभित्र रहेका ५४ वटा ठुला मेसिनमध्ये ४३ वटा मेसिन सामान्य मर्मत सम्भारबाटै सञ्चालन भएको जनाइएको छ । अन्यको हकमा पनि ७५ प्रतिशत औजार मर्मत सम्भारबाटै सञ्चालन गर्न सकिने केन्द्रको भनाइ छ ।

नेपाल सरकारले असोज ११ गते लिखित सम्झौता गरेर कृषि औजार काराखाना सञ्चालनको सम्पूर्ण जिम्मा राष्ट्रिय आविष्कार केन्द्रलाई दिने निर्णय गरेको हो । सोही सम्झौता अनुसार अविष्कार केन्द्रले कारखानाको अवस्थाबारे सरकारलाई प्रतिवेदन बुझाएको हो ।

‘हामीले प्रारम्भिक चरणको काम गरिसकेका छौ, यसमा कारखाना के कस्तो अवस्थामा छ रु मेसिन सञ्चालन गर्न मोटामोटी खर्च कति लाग्छ, चल्ने÷नचल्ने अवस्थाका मेसिनहरु कति छन् । फाल्नुुपर्ने मेसिनहरु के के छन् रु त्यसको लगतहरु निकालेर एउटा रिपोर्ट सरकारलाई बुझायौं, अब सोही रिपोर्टका आधारमा सरकारले के निर्देशन दिन्छ, त्यसै अनुसार हामी अगाडी बढ्छौं,’ राष्ट्रिय अविष्कार केन्द्रका प्रमुख महावीर पुुनले भने ।

पुराना मेसिन मर्मत सम्भारका लागि रातदिन खट्दा पनि ८÷१० महिना लाग्ने देखिएको उनको भनाइ छ । ‘हामी सकभर १ वर्ष नपुग्दै यहाँ भएका पुराना कृषि औजारमध्ये १०÷१५ प्रकारका औजार पहिलो चरणमा उत्पादन गर्ने तयारीमा छौं,’ पुनले भने ।

अविष्कार केन्द्रले पहिलो चरणमा ८ देखि १० महिनाभित्रका कुटो, कोदालो, कैची, बेल्चादेखि धान झार्ने मेसिन र अन्य हातले चल्ने साना मेसिनहरुको उत्पादनको काम सुरु गर्ने जनाएको छ । दोस्रो वर्षदेखि भने सरकारको आर्थिक सहयोगमा कारखानामा आधुनिक टेक्नोलोजी भित्र्याउने र नाफामुलक ढंगबाट उत्पादन क्षमता बढाउने जनाइएको छ ।

नेपालको कृषि क्षेत्रलाई आवश्यक पर्ने सबै किसिमका उपकरण स्वदेशमै उत्पादन गर्ने उद्देश्यले तत्कालीन सोभियत संघ सरकारको सहयोगमा २०२४ सालमा वीरगञ्ज कृषि औजार कारखाना स्थापना भएको थियो ।

ताजा समाचार

सम्बन्धित समाचार