Saturday, July 27, 2024

आचारसंहिता उल्लंघनका घटना बढ्दै

प्रकाशित:

महेन्द्रनगर । आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा चुनावको प्रचारका क्रममा राजनीतिक दल र तिनका उम्मेदवारहरुले आचारसंहिता उल्लंघनका घटना बढाउदै गएको पाइएको छ ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

दल, तिनका उम्मेदवार र स्थानीय तहका जनप्रतिनिधिहरुले निर्वाचन आचारसंहिता विपरीतका गतिविधि बढाएपनि अनुगमन र नियमनकारी निकायले यसतर्फ ध्यान नदिएको भन्दै असन्तुष्टि व्यक्त गरिएको छ ।

शनिवार महेन्द्रनगरमा संवाद समूहले आयोजना गरेको ‘आचारसंहिता कार्यान्वयन सम्बन्धि संवाद’ कार्यक्रमका सहभागीहरुले चुनावको मिति नजिकिएसँगै आचारसंहिता उल्लंघनका घटना बढेपनि सम्बन्धित निकायले सचेत पार्ने तथा कारबाही नगर्दा उनीहरुको मनोबल बढ्दै गएको गुनासो गरे ।

‘दलहरुले आयोजना गर्ने सभाहरुमा बालबालिकाको प्रयोग भइरहेको छ, जनप्रतिनिधि खुल्ला ढंगले कुनै अमुक राजनीतिक दलको प्रचारमा हिँडिरहेका छन्,’ नागरिक समाज कञ्चनपुरका सहसचिव प्रभुनिधि पन्तले भने, ‘यस्ता घटना समयमै नरोकिए स्वतन्त्र निर्वाचन माथि नै प्रश्नचिन्ह लाग्ने छ ।’

निर्वाचन आयोगले सम्बन्धित जिल्लाका कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुखलाई अनुगमन अधिकारी तोकेर समितिनै गठन गरेको छ ।

अधिकारीहरुलाई लिखित तथा मौखिक रुपमा उजुरी गर्दा पनि आचारसंहिता पालना गराउने सन्दर्भमा केही ठोस काम नगरेको सहभागीहरुले बताए ।

आफ्नै आँखा अगाडि भइरहेका आचारसंहिता विपरीतका घटनाका बारेमा पनि लिखित उजुरी माग गर्ने, ठूला दलका उम्मेदवारलाई छाडेर कमजोरलाई कारबाही गर्ने घटनाले आयोग प्रतिको विश्वास खस्किदै जाने भन्दै सहभागीले चिन्ता व्यक्त गरे ।

‘उम्मेदवारसँगै घरदैलोमा जाने स्थानीय तहका जनप्रतिनिधिहरुले मतदातालाई विभिन्न विकासे आश्वासन दिदैँ मत प्रभावित गर्न खोजेका छन्,’ संवाद समूहका सदस्य तथा पत्रकार महासंघका निवर्तमान अध्यक्ष बिष्णु अवस्थीले भने,‘यसका लागि नागरिक समाज, पत्रकारलगायत सबैले खबरदारी गर्नु आवश्यक छ ।’

संवाद समूहका सहजकर्ता गगन खत्रीले निर्वाचन आचारसंहिता सबैले पालन गर्नुपर्ने र यसतर्फ सम्बन्धित सबैको ध्यानाकर्षण गराउनका लागि समूहले संवादको थालनी गरेको बताए ।

‘आज तपाईंहरुको स्वतन्त्र मत जान्न खोजेका छौँ, भोलि राजनीतिक दलका प्रतिनिधि, उम्मेदवार, प्रशासन, निर्वाचन कार्यालयका अधिकारीहरुसँग संवाद गरेर आचारसंहिता पालनाका लागि दवाव दिइने छ,’ उनले भने ।

 

ताजा समाचार

सम्बन्धित समाचार