महेन्द्रनगर । नेपाल औषधि व्यवसायी संघको १५औँ राष्ट्रिय अधिवेशन तथा ५३औँ वार्षिक साधारण सभा यहीँ मंसिर ५ र ६ गते सुर्खेतमा आयोजना हुँदैछ।
अधिवेशन नजिकिँदै गर्दा संघको नयाँ नेतृत्व चयनका लागि उम्मेदवारी घोषणा गर्ने क्रम पनि सुरु भएको छ।

यसैक्रममा नेपाल औषधि व्यवसायी संघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष गजेन्द्र देव लेखकले केन्द्रीय उपाध्यक्ष (खुद्रा) पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। खुद्रा औषधि व्यवसायीहरूको प्रतिनिधित्व गर्दै उनी केन्द्रीय नेतृत्वमा पुग्ने तयारीमा जुटेका हुन्।

झन्डै २२ वर्षदेखि कञ्चनपुरमा औषधि व्यवसायमा सक्रिय लेखकले संघको सांगठनिक नेतृत्वमा समेत विभिन्न जिम्मेवारी सम्हालिसकेका छन्। उनले नेपाल औषधि व्यवसायी संघको महाकाली अञ्चल शाखाको महासचिव, सुदूरपश्चिम प्रदेश समितिको महासचिव हुँदै प्रदेश अध्यक्षसम्मको जिम्मेवारी निर्वाह गरिसकेका छन्।

व्यवसायसँगै संघको सांगठनिक गतिविधिमा लामो समयदेखि संलग्न रहँदै आएका लेखकले खुद्रा व्यवसायीहरूको हकहित, अधिकार, व्यावसायिक सुरक्षा र सम्मानलाई प्राथमिकतामा राखेर केन्द्रीय उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेको बताएका छन्।
उनले आफ्नो उम्मेदवारीसँगै ‘सक्षम नेतृत्व, सुदृढ संस्था, सुरक्षित व्यवसाय र सम्मानित व्यवसायी’ भन्ने मूल नारालाई अघि सारेका छन्। औषधि व्यवसायीहरूका समस्या र चुनौतीको सम्बोधन, संस्थागत सुदृढीकरण तथा खुद्रा व्यवसायीहरूको आवाजलाई केन्द्रीय तहसम्म प्रभावकारी रूपमा पुर्याउने विषयलाई उनले प्राथमिकतामा राखेका छन्।
विशेषगरी खुद्रा औषधि व्यवसायीहरूले भोग्दै आएका व्यावसायिक समस्या, नीतिगत जटिलता र पेशागत सुरक्षाका सवालमा संघको नेतृत्वले प्रभावकारी भूमिका खेल्नुपर्ने उनको धारणा रहेको छ।
मंसिर ५ र ६ गते सुर्खेतमा हुने १५औँ राष्ट्रिय अधिवेशन तथा ५३औँ वार्षिक साधारण सभाले संघको आगामी नेतृत्व चयन गर्नुका साथै औषधि व्यवसायको भावी दिशा र नीतिगत विषयमा समेत महत्त्वपूर्ण निर्णय गर्ने अपेक्षा गरिएको छ।
लेखकको उम्मेदवारीलाई सुदूरपश्चिम प्रदेशबाट केन्द्रीय नेतृत्वमा खुद्रा औषधि व्यवसायीहरूको प्रतिनिधित्व गर्ने प्रयासका रूपमा हेरिएको छ।


