सिद्धार्थ युवा क्लबको अगुवाइमा लागुऔषधविरुद्ध पुनर्वासका २० क्लबको मोटरसाइकल र्‍याली

प्रकाशित:

 

किशोर तामाङ
पुनर्वास १८असोज २०८३ ‘लागुऔषधमुक्त समाज, सुखी र समृद्ध नेपालको आधार’ भन्ने मूल नाराका साथ पुनर्वास नगरपालिकाका २० वटा युवा क्लबको संयुक्त सहभागितामा लागुऔषधविरुद्ध जनचेतनामूलक मोटरसाइकल र्‍याली सम्पन्न भएको छ।

पुनर्वास नगरपालिका–७ स्थित सिद्धार्थ युवा क्लबको अगुवाइमा आयोजित र्‍यालीमा नगर क्षेत्रका विभिन्न युवा क्लबका पदाधिकारी, सदस्य तथा स्थानीय युवाहरूको उल्लेख्य सहभागिता थियो। र्‍याली बेलौरी नगरपालिका–१ स्थित थापा चोक बीओपीबाट सुरु भई कारगिल डाँडा, आमताल, कङ्कड हुँदै बिचफाँटाको जिरो प्वाइन्टमा पुगेर कोणसभामा परिणत भएको थियो।

र्‍यालीमा सहभागीहरूले लागुऔषधविरुद्ध जनचेतनामूलक नारासहित मोटरसाइकलमार्फत विभिन्न सीमावर्ती क्षेत्रको परिक्रमा गरेका थिए। कार्यक्रममा सिद्धार्थ युवा क्लबका अध्यक्ष प्रकाश तामाङ, सचिव सुखबहादुर तामाङ, त्रिभुवन युवा क्लबका अध्यक्ष जितबहादुर तामाङ तथा सचिव उपेन्द्र बस्नेत, अरनिको युवा क्लबका अध्यक्ष सूर्य तामाङ, कोषाध्यक्ष भिक्टर तामाङ, सरस्वती युवा क्लब मोतीबस्तीका अध्यक्ष धीरेन्द्र चन्द, सहसचिव एलेक्स भट्टलगायत विभिन्न क्लबका पदाधिकारी तथा प्रतिनिधिहरू सहभागी थिए।

कोणसभालाई सम्बोधन गर्दै त्रिभुवन युवा क्लबका सचिव उपेन्द्र बस्नेतले सीमावर्ती क्षेत्रमा लागुऔषधको ओसारपसार तथा सेवन नियन्त्रणका लागि युवाहरू स्वयं सचेत भएर अभियानमा लाग्नुपर्ने बताए।

खुला सीमाका कारण यस क्षेत्रमा लागुऔषधको ओसारपसार र सेवनको जोखिम बढ्दै गएको छ। पुनर्वासका सीमावर्ती नाकालाई लागुऔषध ओसारपसारको ट्रान्जिटका रूपमा प्रयोग हुन नदिन समुदाय, युवा क्लब र सुरक्षा निकायबीच सहकार्य आवश्यक छ,  बस्नेतले भने।

सिद्धार्थ युवा क्लबका अध्यक्ष प्रकाश तामाङले लागुऔषध नियन्त्रणका लागि तीनदिने विशेष जनचेतनामूलक अभियान सञ्चालन गर्न लागिएको जानकारी दिए। उनका अनुसार पुनर्वास–बिचफाँटा जिरो प्वाइन्टदेखि बेलौरी नगरपालिका–१ स्थित थापा चोकसम्मका सीमावर्ती खुला नाकामा अभियान सञ्चालन गरिनेछ।

युवालाई लागुऔषधको दुर्व्यसनबाट जोगाउनु अहिलेको प्रमुख आवश्यकता हो। सीमावर्ती क्षेत्रमा हुने शंकास्पद गतिविधिमाथि निगरानी बढाउँदै लागुऔषध ओसारपसार नियन्त्रणका लागि समुदायस्तरबाट निरन्तर अभियान सञ्चालन गर्नेछौँ । तामाङले भने।

युवा अभियन्ता डेभिड तामाङले सीमावर्ती भारतीय बजारमा नेपाली युवाको आवागमन र लागुऔषध सेवन तथा खरिद–ओसारपसारको जोखिमलाई मध्यनजर गर्दै अभियान सञ्चालन गरिएको बताए।

“सीमावर्ती बजारमा लागुऔषधको सहज उपलब्धता र नेपाली युवाको आवागमनले समस्या थप जटिल बन्न सक्ने देखिएको छ। युवालाई दुर्व्यसनबाट जोगाउन जनचेतना, निगरानी र सरोकारवाला निकायबीचको समन्वयलाई प्रभावकारी बनाउनुपर्छ,” डेविड ले भने।

यसैगरी तामाङले भने 

हाम्रो उद्देश्य कसैप्रति आक्रोश वा हिंसा फैलाउनु होइन; हाम्रो उद्देश्य स्वस्थ युवा, सुरक्षित परिवार र लागूऔषधमुक्त समाज निर्माण गर्नु हो।त्यसैले सबै युवा, अभिभावक, समाजसेवी, जनप्रतिनिधि, सुरक्षा निकाय र सम्बन्धित सरोकारवालालाई एकजुट भएर लागूऔषधविरुद्धको अभियानमा साथ दिन हार्दिक अपिल गर्दछु।

अभियन्ताहरूले सीमावर्ती क्षेत्रमा लागुऔषधको बिक्री–वितरण तथा ओसारपसार नियन्त्रणका लागि सम्बन्धित निकायले प्रभावकारी निगरानी र कानुनी कारबाहीलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन्।

कार्यक्रमका वक्ताहरूले लागुऔषध नियन्त्रण केवल सुरक्षा निकायको जिम्मेवारी नभई परिवार, विद्यालय, स्थानीय समुदाय, युवा क्लब तथा नागरिक समाज सबैको साझा दायित्व भएको बताएका थिए। उनीहरूले युवाशक्तिलाई दुर्व्यसनबाट जोगाएर सिर्जनात्मक तथा उत्पादनमूलक गतिविधिमा जोड्न सके मात्रै स्वस्थ र समृद्ध समाज निर्माण गर्न सकिने बताएका छन्।

र्‍याली तथा जनचेतनामूलक कार्यक्रममार्फत सीमावर्ती क्षेत्रमा लागुऔषधविरुद्ध निरन्तर अभियान सञ्चालन गर्ने र स्थानीय समुदायलाई समेत अभियानमा सहभागी गराउने आयोजकले जनाएको छ। आयोजकका अनुसार अभियानले पुनर्वास तथा आसपासका क्षेत्रमा लागुऔषधको ओसारपसार र सेवन नियन्त्रणमा जनचेतना अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ।

भिडियो

 

 

ताजा समाचार

सम्बन्धित समाचार