किशोर तामाङ
कञ्चनपुर १८ असोज २०८३ चाडपर्व नजिकिँदै गर्दा कञ्चनपुरको पुनर्वास क्षेत्रमा जुवातास नियन्त्रण गर्न प्रहरीले सक्रियता बढाएको छ। इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीको टोलीले पुनर्वास नगरपालिका–१, पुरैनस्थित कच्ची सडकखण्ड नजिकबाट जुवातास खेलिरहेको अवस्थामा पाँच जनालाई पक्राउ गरेको जनाएको छ।

प्रहरीका अनुसार गत राति करिब १ः३० बजे जुवातास खेलिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिइएको हो। पक्राउ पर्नेमा जगत धामी, विक्रम विष्ट, प्रेमबहादुर सिंह, सुरेश तामाङ र केशव बोहरा रहेका छन्।

इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीका प्रहरी निरीक्षक लोकेन्द्रसिंह कार्कीका अनुसार पक्राउ परेकाहरूको साथबाट नगद २० हजार ९ सय २० रुपैयाँ, खुला अवस्थामा रहेका पाँच थान तासका गड्डी, सिलबन्दी अवस्थामा रहेका दुई थान तासका गड्डी तथा मोबाइल फोन बरामद गरिएको छ।
प्रहरीले जुवाको खाल नजिकैबाट एउटा मारुती सुजुकी ८०० कारसमेत बेवारिसे अवस्थामा फेला परेको जनाएको छ।

प्रहरी निरीक्षक कार्कीले पुनर्वास नगरपालिकाका विभिन्न स्थानमा लामो समयदेखि खुला रूपमा सञ्चालन हुँदै आएको जुवातास नियन्त्रणका लागि प्रहरीले अभियानलाई तीव्रता दिएको बताउनुभयो। उहाँका अनुसार जुवातासजस्ता गैरकानुनी गतिविधिले व्यक्तिको आर्थिक अवस्था कमजोर बनाउनुका साथै पारिवारिक कलह, सामाजिक विकृति, अपराध तथा अन्य आपराधिक गतिविधिलाई समेत बढावा दिन सक्ने भएकाले नियन्त्रण आवश्यक रहेको छ।
जुवातासले बढाउँदै सामाजिक विकृति
चाडपर्वको समयमा मनोरञ्जनका नाममा जुवातास खेल्ने प्रवृत्ति बढ्ने गरेको पाइन्छ। सामान्य मनोरञ्जनबाट सुरु हुने जुवातास कतिपय अवस्थामा आर्थिक लेनदेन, ऋण, पारिवारिक विवाद र सामाजिक अपराधको कारण बन्ने गरेको स्थानीयको भनाइ छ।
स्थानीयवासीका अनुसार पुनर्वासका केही क्षेत्रमा लामो समयदेखि जुवातास खेलाइने गरेको गुनासो आउने गरेको छ। उनीहरूले चाडपर्व नजिकिएपछि मात्रै प्रहरी सक्रिय हुने गरेको भन्दै नियमित रूपमा निगरानी र कारबाही गर्नुपर्ने माग गरेका छन्।
केही स्थानीयले प्रहरीको पछिल्लो अभियान सकारात्मक भए पनि यस्तो अभियान चाडपर्व केन्द्रित मात्रै नभई वर्षभरि निरन्तर हुनुपर्ने बताएका छन्। उनीहरूले जुवातास नियन्त्रणसँगै यसको संरक्षण वा सञ्चालनमा संलग्न जोसुकै भए पनि निष्पक्ष अनुसन्धान र कानुनी कारबाही हुनुपर्नेमा जोड दिएका छन्।
स्थानीयस्तरमा प्रहरीको भूमिकाबारे प्रश्न उठाउँदै केही व्यक्तिले चाडपर्वको समयमा मात्रै प्रहरी सक्रिय हुने र अन्य समयमा जुवातास सञ्चालनमा बेवास्ता हुने गरेको आरोपसमेत लगाएका छन्। यद्यपि, त्यस्ता आरोपको पुष्टि भने हुन बाँकी छ।
‘प्रहरी मात्रै होइन, समुदायको पनि जिम्मेवारी’
प्रहरी निरीक्षक लोकेन्द्रसिंह कार्कीले जुवातास नियन्त्रण प्रहरीको मात्रै जिम्मेवारी नभएको बताउनुभयो। उहाँले समाजमा हुने गैरकानुनी तथा सामाजिक विकृति नियन्त्रणका लागि स्थानीय बासिन्दा, जनप्रतिनिधि र सम्बन्धित निकायबीच समन्वय आवश्यक रहेको उल्लेख गर्नुभयो।
उहाँका अनुसार स्थानीय बासिन्दाले आफ्नो क्षेत्रमा हुने गैरकानुनी गतिविधिबारे सम्बन्धित निकायलाई समयमै सूचना दिएमा त्यस्ता गतिविधि नियन्त्रण गर्न प्रहरीलाई सहज हुन्छ।
प्रहरी निरीक्षक कार्कीले प्रहरीकै कुनै सदस्य गैरकानुनी गतिविधिमा संलग्न भएको सूचना वा प्रमाण भेटिए विभागीय कारबाही गरिने बताउँदै स्थानीयलाई त्यस्ता गतिविधिबारे प्रहरीलाई सूचना उपलब्ध गराएर सहयोग गर्न आग्रह गर्नुभयो।
सूचना र सहकार्यबाट मात्रै प्रभावकारी नियन्त्रण
जुवातास नियन्त्रण केवल पक्राउ र कारबाहीमा सीमित नराखी यसको सामाजिक प्रभाव न्यूनीकरणतर्फ समेत ध्यान दिनुपर्ने आवश्यकता देखिएको छ। विशेषगरी चाडपर्वका बेला मनोरञ्जनका नाममा जुवा खेल्ने, आर्थिक क्षति व्यहोर्ने र त्यसबाट उत्पन्न पारिवारिक तथा सामाजिक विवादलाई रोक्न समुदायस्तरमै सचेतना आवश्यक छ।
स्थानीय तह, प्रहरी, नागरिक समाज तथा स्थानीयवासीबीच सहकार्य हुन सके जुवातासजस्ता सामाजिक विकृति नियन्त्रणमा प्रभावकारी परिणाम ल्याउन सकिने देखिन्छ।
तसर्थ प्रहरीले जुवातास लगायत गैरकानुनी गतिविधिबारे सूचना उपलब्ध गराउन स्थानीयवासीलाई आग्रह गरेको छ। यसरी समाजमा शान्ति, सद्भाव र सुरक्षित वातावरण कायम गर्न नागरिकको सक्रिय सहभागिता र प्रहरीको निरन्तर निगरानी दुवै आवश्यक रहेको प्रहरीको भनाइ छ।


