किशोर तामाङ,
कञ्चनपुर ,१६असोज २०८३ कञ्चनपुरको पुनर्वास नगरपालिका क्षेत्रका बजारमा जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा गरिएको अनुगमनका क्रममा म्याद गुज्रेका, लेबल नभएका तथा उपभोगका लागि अनुपयुक्त खाद्यवस्तु बरामद गरी नष्ट गरिएको छ। अनुगमन टोलीले व्यवसाय कानुनअनुसार सञ्चालन भए–नभएको समेत जाँच गर्दै कैफियत भेटिएका व्यवसायीलाई आगामी दिनमा गल्ती नदोहोर्याउन सचेत गराएको छ।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको नेतृत्वमा घरेलु तथा साना उद्योग कार्यालय कञ्चनपुर, इलाका प्रहरी कार्यालय तथा पुनर्वास नगरपालिकाको सहभागितामा पुनर्वास नगरपालिका–६ अन्तर्गत टाउन र पुनर्वास नगरपालिका वडा नं ३ स्थित आईबीआरडी बजार क्षेत्रमा रहेका किराना पसल, होटल, रेस्टुरेन्ट, तरकारी तथा फलफूल पसललगायत खाद्यवस्तु बिक्री गर्ने व्यवसायमा अनुगमन गरिएको हो।

अनुगमनका क्रममा म्याद नाघेका, लेबल नभएका तथा उपभोगका दृष्टिले अनुपयुक्त देखिएका विभिन्न वस्तु बरामद गरिएको थियो। बरामद सामग्री सम्बन्धित व्यक्तिहरूको रोहबरमा अस्थायी प्रहरी पोस्ट, पुनर्वास नगरपालिका-३ को परिसरमा नष्ट गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

अनुगमनमा जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका नायब सुब्बा राजेन्द्र शर्मा, इलाका प्रहरी कार्यालय/अस्थायी प्रहरी पोस्टका प्रहरी सहायक निरीक्षक वीरेन्द्र खडायत, घरेलु तथा साना उद्योग कार्यालय कञ्चनपुरका नरेशप्रसाद भट्ट, पुनर्वास नगरपालिकाका प्रतिनिधि हिरा विक, कालिका बजार व्यवस्थापन समितिका सहसचिव राजेन्द्र पौडेल, जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका भुवनराज पाण्डेय तथा सञ्चारकर्मीहरूको उपस्थिति थियो।
अनुगमनको उद्देश्य उपभोक्ताको स्वास्थ्य सुरक्षासँगै व्यवसायीलाई खाद्यवस्तुको गुणस्तर, म्याद, लेबल तथा व्यवसाय सञ्चालनसम्बन्धी कानुनी प्रावधानबारे सचेत गराउनु रहेको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका नायब सुब्बा राजेन्द्र शर्माले बताए।
*उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष असर पार्न सक्ने म्याद गुज्रेका तथा लेबल नभएका खाद्यवस्तुको बिक्री–वितरण रोक्न र व्यवसायीलाई कानुनी मापदण्ड पालना गराउन अनुगमन गरिएको हो। पहिलो चरणमा कैफियत देखिएका व्यवसायीलाई सचेत गराइएको छ। आगामी दिनमा पनि यस्ता गतिविधि दोहोरिएमा प्रचलित कानुनअनुसार कारबाहीको प्रक्रिया अघि बढाइनेछ, शर्माले बताए।
पुनर्वासका मुख्य बजार प्रतिभानगर टाउन र आईबीआरडी क्षेत्रमा गरिएको अनुगमनका क्रममा केही पसलमा कैफियत भेटिएको शर्माले जानकारी दिए। ती व्यवसायका सञ्चालकलाई आवश्यक सुधार गर्न निर्देशन दिँदै उपभोक्ताको स्वास्थ्य र अधिकारलाई प्राथमिकतामा राखेर व्यवसाय सञ्चालन गर्न आग्रह गरिएको उनले बताए।
अनुगमनमा सहभागी सरोकारवालाहरूले पनि उपभोक्ताले खाद्यवस्तु खरिद गर्दा उत्पादन तथा उपभोग्य मिति, लेबल, गुणस्तर र व्यवसायको वैधानिकतामा ध्यान दिनुपर्नेमा जोड दिएका छन्।
उपभोक्ता स्वास्थ्यसँग प्रत्यक्ष जोडिएका खाद्यवस्तुमा व्यवसायीले लापरबाही गर्न नहुने बताउँदै सरोकारवालाहरूले नियमित अनुगमनसँगै उपभोक्ता सचेतना अभियानलाई समेत प्रभावकारी बनाउनुपर्ने आवश्यकता औँल्याएका छन्।
जिल्ला प्रशासन कार्यालयले बजार अनुगमनलाई निरन्तरता दिँदै उपभोक्ताको स्वास्थ्य र अधिकारविपरीत हुने गतिविधिमाथि निगरानी बढाउने जनाएको छ। व्यवसायीहरूले पनि प्रचलित कानुन र मापदण्डअनुसार व्यवसाय सञ्चालन गर्नुपर्नेमा प्रशासनले जोड दिएको छ।


