जनसम्पर्क समिति इजरायलबाट कांग्रेसको १५औँ महाधिवेशनका लागि नारद बोगटी महाधिवेशन प्रतिनिधिमा निर्वाचित

प्रकाशित:

  इजरायल– कञ्चनपुरको पुनर्वास नगरपालिका–५, भानुबस्तीका नारद बोगटी नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनका लागि इजरायलबाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन्।

नेपाली जनसम्पर्क समिति, इजरायलबाट महाधिवेशन प्रतिनिधिका रूपमा निर्वाचित बोगटीलाई निर्वाचन समितिले प्रमाणपत्र प्रदान गर्दै सफल कार्यकालको शुभकामना दिएको छ। प्रमाणपत्रमा नेपाली कांग्रेसका केन्द्रीय सभापति गगनकुमार थापाको प्रमुख आतिथ्यता, केन्द्रीय प्रतिनिधि गुरुराज घिमिरेको विशिष्ट आतिथ्यता तथा निर्वाचन संयोजक खगेन्द्रप्रसाद खरेलको हस्ताक्षर रहेको जनाइएको छ।

डोटीबाट कैलाली हुँदै विद्यार्थी राजनीतिमा सक्रिय भएका बोगटी लामो समयदेखि कांग्रेसको संगठन तथा राजनीतिक गतिविधिमा संलग्न युवा नेताका रूपमा परिचित छन्। हाल अध्ययन तथा रोजगारीको सिलसिलामा इजरायलमा बस्दै आएका उनी प्रवासमा रहेर पनि नेपाली कांग्रेसको संगठनात्मक गतिविधिमा सक्रिय रहँदै आएका छन्।

महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएपछि बोगटीले कांग्रेसलाई युवामाझ अझ लोकप्रिय र प्रभावकारी राजनीतिक संगठनका रूपमा स्थापित गर्न आफूले सक्रिय भूमिका निर्वाह गर्ने बताएका छन्। उनले युवाको नेतृत्व उमेरका आधारमा मात्र नभई क्षमता, योग्यता, सक्रियता र जिम्मेवारीबोधका आधारमा हुनुपर्ने धारणा व्यक्त गरेका छन्।

बोगटीले आफूलाई प्रदान गरिएको जिम्मेवारीलाई मर्यादित, इमानदार र जिम्मेवार ढंगले निर्वाह गर्दै आगामी दिनमा संस्थाको हित, उद्देश्य र नीति अनुरूप सक्रिय भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

निर्वाचित भएपछि उनले आफूलाई विश्वास गरेर जिम्मेवारी प्रदान गर्ने नेपाली जनसम्पर्क समिति इजरायलका पदाधिकारी, सदस्य, समर्थक तथा शुभेच्छुकलगायत सम्पूर्णप्रति आभार व्यक्त गरेका छन्। उनले प्राप्त जिम्मेवारीलाई व्यक्तिगत उपलब्धिका रूपमा मात्र नभई संगठनप्रतिको थप जिम्मेवारीका रूपमा लिएको बताएका छन्।

विद्यार्थी राजनीतिबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेका बोगटीले प्रवासमा रहेर नेपाली कांग्रेसको संगठन विस्तार, युवा सहभागिता तथा संस्थागत गतिविधिलाई थप प्रभावकारी बनाउन भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ। महाधिवेशन प्रतिनिधिका रूपमा उनको आगामी भूमिकाले प्रवासमा रहेका नेपाली कांग्रेससम्बद्ध युवाहरूको सहभागिता र प्रतिनिधित्वलाई समेत थप सशक्त बनाउने विश्वास गरिएको छ।

 

ताजा समाचार

सम्बन्धित समाचार