
किशोर तामाङ

धनगढी । लगातारको वर्षासँगै पहिरो खस्ने र नदीमा पानीको बहाव बढ्ने क्रम जारी रहेपछि सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा सडक तथा सवारी आवागमन प्रभावित भएको छ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढीका अनुसार वर्षाका कारण विभिन्न स्थानमा सडक अवरुद्ध भएपछि केही सडकखण्डमा सवारी आवागमन पूर्णरूपमा बन्द गरिएको छ। अवरुद्ध सडक खुलाउन सम्बन्धित जिल्लाका सुरक्षा निकाय तथा स्थानीय प्रशासनले आवश्यक पहल गरिरहेका छन्।

बाजुराको बडीमालिका नगरपालिका–९ स्थित कारागार मोडमा पहिरो खसेपछि बाजुरा–अछाम हाइवे पूर्णरूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ।
त्यस्तै, दार्चुलाको मालिकार्जुन गाउँपालिका–८ स्थित एराछिन र महाकाली नगरपालिका–९ स्थित सकार भिरमा पहिरोसँगै ढुङ्गा खसेपछि महाकाली राजमार्गसमेत अवरुद्ध भएको छ।

डडेलधुरातर्फ भीमदत्त राजमार्गमा रुख ढलेपछि जोगबुढा–बोर्डर सडकखण्डसमेत अवरुद्ध भएको प्रहरीले जनाएको छ।

यसैबीच, कञ्चनपुरमा महाकाली नदीको बहाव बढेपछि गड्डाचौकीबाट चारपाङ्ग्रे सवारीसाधनको आवागमनसमेत बन्द गरिएको छ।

प्रहरीका अनुसार वर्षाका कारण सुदूरपश्चिमका विभिन्न स्थानमा २०८३ साल असार १० गते बिहान ७ बजेदेखि असार ११ गते बिहान ७ बजेसम्म गरिएको सडक बन्दको अवधि वर्षा निरन्तर भइरहेकाले थप गरिएको छ। अब उक्त बन्द असार १२ गते बिहान ७ बजेसम्म कायम रहने जनाइएको छ।

लगातारको वर्षाका कारण पहिरो तथा बाढीको जोखिम बढेकाले आवश्यक सावधानी अपनाउन र जोखिमयुक्त क्षेत्रमा यात्रा नगर्न सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढीले सर्वसाधारणमा आग्रह गरेको छ।



