असोज ९ देखि १२ गतेसम्म अति भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह

प्रकाशित:

काठमाडौं —राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (NDRRMA) ले देशका विभिन्न स्थानमा आगामी दिनमा भारी, धेरै भारीदेखि अति भारी वर्षा हुन सक्ने भन्दै अत्यावश्यक पूर्वचेतावनी जारी गरेको छ।

प्राधिकरणका अनुसार २०८३ असोज ९ गतेदेखि १२ गतेसम्म वर्षाको जोखिम उच्च रहेकाले उक्त अवधिभर विशेष सतर्कता अपनाउन सम्बन्धित निकाय तथा सर्वसाधारणलाई आग्रह गरिएको छ।

काठमाडौं। मौसम विभागले असोज ९ देखि ११ गतेसम्मलाई १५ जिल्लामा रेड अलर्ट जारी गरेको छ। जसमा १४ हिमाली जिल्ला; दार्चुला, बझाङ, हुम्ला, मुगु, डोल्पा, मुस्ताङ, मनाङ, गोरखा, रसुवा, सिन्धुपाल्चोक, दोलखा, सोलुखुम्बु, संखुवासभा, ताप्लेजुङ छन्। त्यस्तै बाजुरामा पनि रेड अलर्ट जारी गरिएको छ।सोमबार विशेष बुलेटिन निकाल्दै ४० भन्दा बढी जिल्लामा सतर्कता अपनाउनुपर्ने स्थिति दर्शाएको थियो।

आज मौसम पूर्वानुमानले थप स्थिति विश्लेषण गरी विशेष सतर्कता अपनाउनुपर्ने भन्दै रेड अलर्ट जारी गरेको हो।आगामी असोज ९ गते शुक्रबारदेखि असोज ११ गते आइतबारसम्म गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङ/ हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षा तथा एक–दुई स्थानमा अति भारी वर्षाको समेत सम्भावना छ।

साथै मधेश प्रदेश तथा कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा पनि मेघगर्जन/ चट्याङ/ हावाहुरी सहित भारी देखि धेरै भारी वर्षाको तथा कर्णाली प्रदेशको पनि थोरै स्थानमा भारी वर्षाको समेत सम्भावना छ,’ मौसम पूर्वानुमान महाशाखाले भनेको छ।

महाशाखाका अनुसार देशका अधिकांश स्थानमा मेघगर्जन/ चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। उत्तर अन्डमान सागर र आसपासको क्षेत्रमा विकसित न्यूनचापीय क्षेत्र हाल बंगाल खाडीको मध्य भू–भाग आसपासमा रहेको महाशाखाले बताएको छ।

‘उक्त प्रणाली थप शक्तिशाली बन्दै बलियो न्यून चापीय क्षेत्र भई पश्चिम– उत्तरपश्चिम दिशातिर सर्ने देखिन्छ र यसको प्रभावले बुधबारबाट नै कोशी, बागमती र गण्डकी प्रदेशमा वर्षाको गतिविधि बढ्दै जाने देखिन्छ,’ महाशाखाले भनेको छ।

सम्भावित जोखिमलाई मध्यनजर गर्दै NDRRMA ले विशेषगरी यी तयारी गर्न अनुरोध गरेको छ

– आवश्यकताअनुसार सवारी आवागमन बन्द वा नियन्त्रण र्न।
– जोखिमपूर्ण स्थानमा रहेका नागरिकलाई विपद् आउनुअघि नै सुरक्षित स्थानमा स्थानान्तरण गर्न।
– सम्भावित बाढी, पहिरो तथा डुबान प्रभावित क्षेत्रमा निरन्तर निगरानी बढाउन।
– खोज तथा उद्धार सामग्री विभिन्न स्थानमा पूर्वतैनाथ गर्न।
– सुरक्षा तथा उद्धार निकायलाई आवश्यक जनशक्ति र उपकरणसहित प्रतिकार्यका लागि तयारी अवस्थामा राख्न।
– वर्षा, बाढी तथा पहिरोसम्बन्धी सूचना निरन्तर अनुगमन गरी आवश्यकताअनुसार तत्काल कदम चाल्न।

⚠️ सतर्कता अपनाउन आग्रह

भारी वर्षाका कारण बाढी, पहिरो, डुबान तथा सडक अवरुद्ध जस्ता घटना हुन सक्ने भएकाले जोखिमयुक्त नदी किनार, पहिरोको सम्भावना भएका भिरालो क्षेत्र तथा कमजोर संरचना भएका स्थानमा बसोबास गर्ने नागरिकलाई विशेष सावधानी अपनाउन आग्रह गरिएको छ।

सम्भावित जोखिमबाट मानवीय तथा भौतिक क्षति कम गर्न स्थानीय तह, सुरक्षा निकाय, विपद् व्यवस्थापनसँग सम्बन्धित निकाय र नागरिकबीच प्रभावकारी समन्वय तथा पूर्वतयारी आवश्यक** रहेको प्राधिकरणले जनाएको छ।

👉 सम्भावित विपद् आउनुअघि नै सुरक्षित स्थानमा जाऔँ। मौसम तथा विपद्सम्बन्धी आधिकारिक सूचना निरन्तर पछ्याऔँ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण

ताजा समाचार

सम्बन्धित समाचार