सञ्चालनमा आउनुअघि नै सडक बत्ती तोडफोड, सार्वजनिक सम्पत्तिको सुरक्षामाथि प्रश्न

प्रकाशित:

कञ्चनपुर ६ असोज । २०८३ प्रदेश सरकार र पुनर्वास नगरपालिकाको संयुक्त लगानीमा कञ्चनपुरको पुनर्वास नगरपालिकामा जडान गरिएको सडक बत्ती सञ्चालनमा आउनुअघि नै तोडफोड भएको पाइएको छ।
पुनर्वास नगरपालिका–१० स्थित दोदा पुलदेखि करिब डेढ किलोमिटर क्षेत्रमा जडान गरिएका केही सडक बत्तीका पोल तथा संरचना तोडफोड भएको अवस्थामा भेटिएका हुन्।
सडक बत्ती जडानको काम सम्पन्न भए पनि केही प्राविधिक काम बाँकी रहेकाले हालसम्म औपचारिक रूपमा सञ्चालनमा आउन सकेको छैन। तर सञ्चालनमा आउनुअघि नै केही सडक बत्तीमा क्षति पुगेपछि सार्वजनिक सम्पत्तिको संरक्षण तथा सुरक्षाका विषयमा स्थानीयस्तरमा चिन्ता बढेको छ।
सडक बत्ती तोडफोड भएको विषय पुनर्वास नगरपालिका योजना शाखा प्रमुख शंकर बोगटीले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेपछि घटनाबारे स्थानीयको ध्यानाकर्षण भएको हो। बोगटीले सामाजिक सञ्जालमा सार्वजनिक सम्पत्तिको संरक्षणमा नागरिकको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै सडक बत्ती तोडफोडप्रति असन्तुष्टि जनाउनुभएको छ।
उहाँले सामाजिक सञ्जालमा लेख्नुभएको छ, “हामी सचेत नागरिक कहिले बन्ने होला ? निर्माण व्यवसायीले काम अलिकति ढिलो गरेको होला, तर सञ्चालन हुन नपाउँदै यसरी जानीजानी तोड्नु राम्रो हो ? अनि नागरिकको कर्तव्य यही हो ?” तोडफोडमा संलग्न व्यक्तिको पहिचान खुलेमा कानुनी कारबाहीको दायरामा ल्याउनुपर्ने धारणा पनि उहाँले व्यक्त गर्नुभएको छ।
यसैगरी, पुनर्वास नगरपालिका–४ का वडाध्यक्ष मनोज जैसीले पनि सार्वजनिक सम्पत्तिमा क्षति पुर्याउने कार्यप्रति आपत्ति जनाउनुभएको छ। उहाँले सामाजिक सञ्जालमार्फत सार्वजनिक सम्पत्ति तोडफोड तथा हानि–नोक्सानी गर्ने व्यक्तिबारे प्रमाणसहित सूचना उपलब्ध गराउनेलाई पुरस्कारको व्यवस्था गरिएको जानकारी गराउनुभएको छ।
सडक बत्ती तोडफोड भएको विषयमा पुनर्वास नगरपालिका योजना शाखा प्रमुख शंकर बोगटीसँग जानकारी लिँदा उहाँले केही प्राविधिक काम बाँकी रहेकाले सडक बत्ती सञ्चालनमा केही ढिलाइ भएको बताउनुभयो। उहाँका अनुसार सडक बत्ती सञ्चालनमा आउनुअघि नै केही बत्ती तथा संरचनामा क्षति पुगेको जानकारी प्राप्त भएको छ।
“केही प्राविधिक काम बाँकी रहेकाले सडक बत्ती सञ्चालनमा ढिलाइ भएको हो। तर सञ्चालनमा आउनुअघि नै केही सडक बत्ती तोडफोड भएको रहेछ,” योजना शाखा प्रमुख बोगटीले भन्नुभयो। तोडफोड कसले गरेको हो भन्नेबारे हालसम्म यकिन जानकारी प्राप्त नभएको उहाँले बताउनुभयो।

३५ लाख रुपैयाँको संयुक्त लगानी

पुनर्वास नगरपालिकामा जडान भइरहेको सडक बत्तीका लागि प्रदेश सरकार र स्थानीय तहले संयुक्त रूपमा बजेट विनियोजन गरेका छन्।
योजना शाखा प्रमुख बोगटीका अनुसार प्रदेश सरकारबाट २० लाख रुपैयाँ र पुनर्वास नगरपालिकाबाट १५ लाख रुपैयाँ गरी कुल ३५ लाख रुपैयाँ बजेटमा सडक बत्ती जडानको काम अघि बढाइएको हो।
उहाँका अनुसार सडक बत्ती जडानका लागि बोलपत्र आह्वान गर्दा पहिलो र दोस्रो पटक प्रक्रिया अघि बढ्न नसकेपछि तेस्रो पटक सूचना जारी गरिएको थियो। तेस्रो पटकको सूचनामार्फत ई–बिडिङ प्रक्रियाबाट काठमाडौंस्थित दीप लाइट इनर्जीलाई ठेक्का परेको उहाँले जानकारी दिनुभयो।

पहिलो चरणमा डेढ किलोमिटर क्षेत्रमा बत्ती जडान

योजनाको पहिलो चरणअन्तर्गत पुनर्वास नगरपालिका–१० स्थित दोदा पुलदेखि करिब डेढ किलोमिटर क्षेत्रमा सडक बत्ती जडान गरिएको छ। बत्ती जडानका लागि आवश्यक पोल राख्ने उद्देश्यले जेठ ३१ गतेदेखि प्रत्येक ३०–३० मिटरको दूरीमा खाल्डो खन्ने काम सुरु गरिएको थियो।
हाल पहिलो चरणको क्षेत्रमा सडक बत्तीका पोल तथा आवश्यक संरचना जडान गर्ने काम सम्पन्न भएको जनाइएको छ। केही प्राविधिक काम पूरा गरेपछि सडक बत्ती सञ्चालनमा ल्याउने तयारी नगरपालिकाको छ।
तर सञ्चालनमा आउनुअघि नै सार्वजनिक लगानीबाट निर्माण गरिएको संरचनामा क्षति पुगेपछि सडक बत्तीको संरक्षण र सार्वजनिक सम्पत्तिप्रति नागरिकको जिम्मेवारीबारे प्रश्न उठेको छ।
नगरपालिकाले तोडफोडमा संलग्न व्यक्तिको पहिचान गरी आवश्यक कारबाही अघि बढाउने तथा जडान गरिएका संरचनाको संरक्षणमा स्थानीय समुदायको सहयोग आवश्यक रहेको जनाएको छ।

ताजा समाचार

सम्बन्धित समाचार