जेनजी आन्दोलनमा मृत्यु भएका १० जनाको आज नगर परिक्रमासहित अन्त्येष्टि गरिने

प्रकाशित:

काठमाडौँ । जेनजी आन्दोलनमा ज्यान गुमाएका १० जनाको आज अन्त्येष्टि गर्ने तयारी भएको छ । त्रिवि शिक्षण अस्पतालमा रहेका ९ र पाटन अस्पतालमा रहेका १ जनागरी १० मृतकको आज अन्त्येष्टि गर्न लागिएको हो ।

अन्त्येष्टिअघि शव गाडीमा राखेर नगर परिक्रमा गराइने तयारी भएको मृतकका एक आफन्तले बताए । यसअघि नै जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका केही मृतकको दाहसंस्कार भइसकेको छ । थप १० जनाको चाहिँ आज हुन लागेको हो।

सरकारले मृतकहरूको राष्ट्रिय सम्मान दिएर अन्त्येष्टि गर्ने निर्णय गरिसकेको छ । नवनियुक्त गृह, कानुन न्याय तथा संसदीय मामिला मन्त्री ओमप्रकाश अर्यालले पदभार ग्रहण गर्दै प्रदर्शनका क्रममा निधन भएकाहरूलाई सहिद घोषणा गर्दै राष्ट्रिय सम्मानसहित अन्त्येष्टि हुने बताएका थिए ।

सोहीअनुसार सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मृत्यु हुनेको परिवारलाई १० लाख क्षतिपूर्ति र अन्य खर्च बापत ५ लाख गरेर १५ लाख रुपैयाँ दिने निर्णय समेत गरेको छ ।

यसका लागि अर्थ मन्त्रालयले सम्बन्धित जिल्ला प्रशासन मार्फत मृतक परिवारलाई रकम हस्तान्तरण गर्ने बताइएको छ । जेनजी आन्दोलनमा ७२ जनाको मृत्यु भएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार