महेन्द्रनगर। दार्चुलामा यात्रु बोकेको अटो रिक्सा खोलामा खस्दा ११ वर्षीया बालिकाको मृत्यु भएको छ भने दुई यात्रु अझै बेपत्ता छन्।

जिल्लाको नौगाड गाउँपालिका–५ सौकेबगरमा आइतवार अटो रिक्सा अनियन्त्रित भई होपरी खोलामा खसेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक छत्रबहादुर रावतले जानकारी दिए।

उनका अनुसार नौगाडबाट गोकुलेश्वरतर्फ गइरहेको म १ ख ११४८ नम्बरको अटो रिक्सामा चालकसहित ५ जना सवार थिए। दुर्घटनापछि खोलामा बेपत्ता भएका तीनमध्ये एक बालिकाको शव भेटिएको हो भने अन्य दुई जनाको खोजी कार्य भइरहेको छ।

दुर्घटनामा अटो चालक नौगाड गाउँपालिका–६ का मनिराम भुल र उनका छोरा आयुस भुल घाइते भएका छन्। उनीहरूलाई उपचारका लागि अस्पताल पठाइएको प्रहरीले जनाएको छ।