एम्बुलेन्स दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । जाजरकोट जिल्लाको भेरी नगरपालिका– १ कोल्चौर नजिकै कल्ले खोलामा गए राति १ बजे एम्बुलेन्स दुर्घटना हुँदा चालक भेरी नगरपालिका–१ डौंरीकाँडाका २७ वर्षीय सुनिल चनाराको घटनास्थलमै मृत्यु भएको हो ।

भेरी नगरपालिका–१ का वडा अध्यक्ष दीपक रानाले खलङ्गाबाट भेरी नगरपालिका–१ कै डौँरीकाँडा बिरामी लिन जाँदै गरेको उदय युवा क्लब मुसीकोट १३ को नाममा रहेको भे १ च २२४७ नम्बरको एम्बुलेन्स गए राति दुर्घटना भएको जानकारी दिए ।

अस्थायी प्रहरी पोष्ट होलुखोलाका प्रहरी नायब निरीक्षक बीरबहादुर थापाले गए राति १ बजे उकालो जाने क्रममा भित्तामा ठोक्किँएर एम्बुलेन्स करिब दुई सय मिटर तल खसेर दुर्घटना भएको बताउनुभयो । राति १ बजेको घटना भए पनि स्थानीयहरुले बिहान घाँस काट्न जाने क्रममा थाहा पाएर प्रहरीलाई खबर गरेको थापाले बताए ।

अहिले घटनास्थलमा प्रहरी पुगेर मुचुल्का लगायतको काम गरी लाश पोष्टमार्टमका लागि जिल्ला अस्पताल पठाउन थालिएको सइ थापाले जानकारी दिए । चालक सोही वडाको डौरीकाँडा निवासी रहेको जनाइएको छ ।