महेन्द्रनगरः कञ्चनपुरको लालझाडी गाउँपालिका–५ स्थित देखतभूली स्वास्थ्य चौकीलाई सोमवार पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गरिएको छ।एक औपचारिक समारोहका बीच गाउँपालिकाका अध्यक्ष निर्मल रानाले स्वास्थ्य चौकीलाई पोषणमैत्री संस्था घोषणा गरेका हुन्।

घोषणा कार्यक्रममा उनले देखतभूली स्वास्थ्य चौकी उदाहरणीय संस्था बनेको उल्लेख गर्दै यसलाई अझै सुदृढ बनाएर लैजाने बताए। उनका अनुसार स्वास्थ्य चौकीले पोषणमैत्री स्वास्थ्य संस्था बन्नका लागि आवश्यक सबै मापदण्ड तथा १६ वटा सूचकमा सतप्रतिशत नतिजा हासिल गरेपछि यो घोषणा गरिएको हो।

स्वास्थ्य चौकी प्रमुख लीलाकान्त झाका अनुसार स्वास्थ्य संस्था पोषणमैत्री घोषित हुन दुई चरणको मूल्याङ्कन प्रक्रिया पार गर्नुपर्ने हुन्छ। अनिवार्य मापदण्ड पूरा गरेपछि पोषण सेवासँग सम्बन्धित सूचकमा पनि मूल्याङ्कन गरिन्छ। पोषण सेवा सुधार निर्देशिका, २०७८ अनुसार गठित पोषण सेवा सुधार समितिको बैठक र गुणस्तर सुनिश्चिता कार्यसमितिको प्रमाणीकरणपश्चात् पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गरिएको उनले बताए।

कार्यक्रममा पोषण फाँटका प्रमुख मञ्जुकुमारी कार्की र स्वास्थ्य चौकी प्रमुख झालाई कार्यक्रमका प्रमुख अतिथि गाउँपालिकाका अध्यक्ष निर्मल रानाले सम्मान गर्नुभएको थियो। साथै, सोही अवसरमा स्वास्थ्य चौकीलाई पोषणमैत्री संस्था प्रमाणपत्र प्रदान गरिएको थियो। स्वास्थ्य चौकी प्रमुख झाले गर्भवती, सुत्केरी र शिशुहरूको पोषणस्थिति सुधार गर्न प्रभावकारी काम गर्दै आएको र आगामी दिनमा अझ गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता गरे।