महेन्द्रनगर । गिद्ध संरक्षणका लागि युवाको सहभागिता बढाउन उद्देश्यले कञ्चनपुरको बेलौरी नगरपालिकामा सचेतना कार्यक्रम सम्पन्न भएको छ। १६औं अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवसको पूर्वसन्ध्यामा बेलौरी नगर युवा सञ्जालले नेपाल पक्षी संरक्षण सङ्घको सहयोगमा आइतबार कार्यक्रमको आयोजना गरेको हो।
कार्यक्रममा बोल्दै बेलौरी नगरपालिकाका उपप्रमुख जोगराम चौधरीले गिद्ध संरक्षणको लागि वासस्थान जोगाउन जरुरी रहेको बताए। उनले गिद्ध बस्ने अग्ला रुखहरू जस्तै सिमल र सखुवा मासिँदै गएपछि गिद्धको सङ्ख्यामा ठूलो कमी आएको उल्लेख गरे। “दशकअघिसम्म सहजै देखिने गिद्ध आजभोलि दुर्लभ बनिसकेको छ,” उनले भने।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तारादत्त अवस्थीले गिद्धको सङ्ख्या घट्दा वातावरणीय सन्तुलन बिग्रनुका साथै स्वास्थ्यमा असर देखिएको बताए। “गिद्धको सङ्ख्या घट्दा हैजा, आउ, झाडापखालाजस्ता रोगहरू बढ्न थालेका छन्,” अवस्थीले भने। उनले गिद्धको लागि घातक मानिएका औषधिहरूको प्रयोग रोक्न आवश्यक रहेको पनि बताए।
चराविज्ञ हिरुलाल डगौराले विद्युतीय तारमा परेर गिद्धको मृत्यु हुने समस्या रहेको बताए। साथै, उनले मृत पशु गाड्ने चलनले गिद्धलाई खानाको अभाव हुँदै आएको उल्लेख गरे। आधुनिक कृषि प्रणालीले पनि गिद्धलाई नकारात्मक असर पारिरहेको उनको भनाइ थियो।
गिद्ध संरक्षणको महत्त्वबारे सचेतना फैलाउन यस वर्षको गिद्ध सचेतना सप्ताह सेप्टेम्बर १ देखि ७ सम्म मनाइँदै छ।