महेन्द्रनगर । नेकपा एमाले कञ्चनपुरले प्रथम पुर्ण बैठकको निर्णयहरु सार्वजनिक गरेको छ । शुक्रवार प्रेस चौतारी कञ्चनपुरले आयोजना गरेको पत्रकार सम्मेलन मार्फत नेकपा एमाले कञ्चनपुरले पार्टीको प्रथम पुर्ण बैठकका निर्णयहरु सार्वजनिक गरेको हो ।

एमाले कञ्चनपुरका सचिव पल्लभ देव भट्टले उक्त प्रकार सम्मेलन मार्फत पार्टीको प्रथम बैठकका १७ ओटा निर्णयहरु सार्वजनिक गरेका हुन् ।

यस्तो छ पुर्ण प्रेस विज्ञप्तिः
हाम्रो गौरवमयी पार्टी नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी कञ्चनपुरको प्रथम पूर्ण बैठक मिति २०८० चैत्र २९ गते कमिटीका अध्यक्ष क. लक्ष्मी बुढाको अध्यक्षता, पार्टी पोलिटब्युरो सदस्य क. राजेन्द्रसिंह रावलको प्रमुख आतिथ्यतामा पार्टी कार्यालय महेन्द्रनगरमा सम्पन्न भएको छ । बैठकमा पार्टी पोलिटब्युरो सदस्य तथा कञ्चनपुर जिल्ला इन्चार्ज क. नारदमुनि रानाको विशेष उपस्थिति रहेको थियो भने पार्टी केन्द्रीय सदस्य क. नरबहादुर धामी, क. कृपाराम राना, प्रदेश कमिटी उपसचिव क. नरबहादुर विश्वकर्मा लगायतको उपस्थिति रहेको थियो । बैठकको अघिल्लो दिन कञ्चनपर जिल्लामा रहेका माथिल्लो कमिटीका नेताहरूसँग परामर्श गरिएको थियो ।
बैठकले गरेका देहायबमोजिम निर्णयहरू जानकारीका लगि प्रेस विज्ञप्तिमार्फत सार्वजनिक गरिएको छ ।
१. जिल्ला कमिटीको नवौं जिल्ला अधिवेशन उद्घाटन गर्नुभएकोमा केन्द्रीय अध्यक्ष सम्माननीय पूर्व प्रधानमन्त्री श्रद्धेय क. केपी शर्मा ओलीलाई विशेष धन्यवाद ज्ञापन गर्दै अधिवेशनलाई सर्वसम्मत सम्पन्न गर्न भूमिका निर्वाह गर्नुभएका माथिल्लो कमिटीका नेता कमरेडहरू, अध्यक्ष मण्डल, निर्वाचन समिति, प्रतिनिधि लगायत सबैमा धन्यवाद ज्ञापन गर्ने निर्णय गरिएको छ । साथै अधिवेशन सम्पन्न गर्न गठन भएका समिति, उपसमिति, अधिवेशनमा सहयोग गर्नुहुने उद्योगी, व्यवसायी, नागरिक समाज, बुद्धिजीवी, श्रमिक, मजदुर वर्ग, पार्टीपंक्ति लगायत प्रत्यक्ष÷अप्रत्यक्ष भूमिका निर्वाह गर्नुहुने सबैमा धन्यवाद ज्ञापन गरिएको छ ।
२. पार्टी केन्द्रीय कमिटी र प्रदेश कमिटीबाट प्राप्त अन्तरपार्टी निर्देशन अध्ययन गरी कार्यान्वयन गर्ने निर्णय गरिएको छ । साथै पार्टी सदस्यता नवीकरण र विस्तार तथा पालिका कमिटीका अधिवेशनका लागि आवश्यक तयारी गर्ने निर्णय गरिएको छ ।
३. बैठकमा पालिका कमिटीका तर्फबाट पालिका अध्यक्ष तथा कार्यबाहक अध्यक्ष कमरेडहरूले पार्टी कामका सन्दर्भमा रिपोर्टिङ गर्नुभएको थियो ।
४. जिल्ला अधिवेशनको सांठगनिक, राजनीतिक, व्यवस्थापकीय र आर्थिक पक्षको समीक्षा गर्दै सकारात्मक पक्ष र सुधार गर्नुपर्ने पक्षबारे छलफल गरिएको छ ।
६. जिल्ला कमिटी बैठकले वर्षभरि गर्नुपर्ने कामको वार्षिक कार्ययोजना तयार गरेको छ ।
७. बैठकले ‘बैठक सञ्चालन कार्यविधि, २०८०’ पारित गरेको छ ।
८. बैठकले देहायबमोजिम विभाग र भूगोलको कार्यविभाजन गरेको छः
क) पार्टी स्कूल विभागको प्रमुखमा अध्यक्ष क. लक्ष्मी बुढा, प्रचार तथा प्रकाशन विभाग प्रमुखमा उपाध्यक्ष क. जनकराज अवस्थी, संगठन विभाग प्रमुखमा सचिव क. पल्लबराज भट्ट, स्थानीय विकास विभाग प्रमुखमा उपसचिव क. अशोककुमार चन्द, वित्त तथा कोष व्यवस्थापन विभाग प्रमुखमा उपसचिव क. राजीव खड्कालाई जिम्मेवारी दिने लगायत बिभिन्न २४ वटा विभागको प्रमुखको जिम्मेवारी तोक्ने निर्णय गरिएको छ ।
ख) जनसंगठन समन्वय संयन्त्रको संयोजकको जिम्मेवारी उपाध्यक्ष क. जनकराज अवस्थीलाई दिइएको छ भने २० वटा जनसंगठनका इन्चार्ज तोकिएका छन् ।
ग) ९ भौगोलिक पालिका कमिटी र २ गैरभौगोलिक गरी ११ कमिटीका इन्चार्ज÷सहइन्चार्ज तथा ९२ वडाका इन्चार्ज÷सहइन्चार्ज तोकिएका छन् ।
घ) प्रतिनिधिसभा निर्वाचन क्षेत्र समन्वय कमिटीको संयोजकमा १ नम्बर क्षेत्रमा क. पल्लबराज भट्ट, २ नम्बर क्षेत्रमा क. अशोककुमार चन्द र ३ नम्बर क्षेत्रमा क. राजीव खड्कालाई जिम्मेवारी तोक्ने निर्णय गरिएको छ । साथै प्रतिनिधिसभा निर्वाचन क्षेत्र समन्वय कमिटीका सहसंयोजक, सचिव तथा प्रदेशसभा निर्वाचन क्षेत्र समन्वय कमिटीका संयोजक, सहसंयोजक र सचिवको जिम्मेवारी समेत तोकिएको छ ।
९. बैठकले क. रामबहादुर बुढाको अध्यक्षतामा हाल कुनै जिम्मेवारीमा नरहेका निवर्तमान जिल्ला कमिटीका सदस्यहरू रहने गरी जिल्ला सल्लाहकार परिषद् गठन गरेको छ ।
१०. बैठकले पुरानो जिल्ला कमिटी सचिवालयमा रहेका र माथिल्लो कमिटीबाट आएका कमरेडहरूलाई समेटेर सानो आकारको जिल्ला कमिटी सचिवालय गठन गरेको छ ।
११. बैठकले देहायबमोजिम समसामयिक प्रस्ताव समेत पारित गरेको छः
१. यथाशीघ्र राष्ट्रिय भूमि आयोग गठन गरी सुकुम्वासी, भूमिहीन र अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गर्न नेपाल सरकारलाई यो बैठक माग गर्दछ ।
२. महाकाली सिँचाइ आयोजना तेस्रो चरणको काम छिटोछरितो सम्पन्न गर्न आवश्यक बजेटको व्यवस्थापन गर्न यो बैठक माग गर्दछ ।
३. हुलाकी सडक निर्माण कार्य द्रूतगतिमा गर्न यो बैठक नेपाल सरकारको ध्यानाकर्षण गर्दछ ।
४. दोधाराचाँदनी सुक्खा बन्दरगाह र महाकाली फोर लेन पुलको निर्माण कार्य छिटो पूरा गर्नका लागि आवश्यक बजेट व्यवस्थापन गर्न यो बैठक माग गर्दछ ।
५. दैजी छेला औद्योगिक क्षेत्रको रोकिएको कामलाई अगाडि बढाउन नेपाल सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय लगायत सरोकारवाला निकायलाई आवश्यक सहयोगका लागि यो बैठक माग गर्दछ ।
६. महाकाली कोरिडोर निर्माण कार्यका लागि आवश्यक बजेट व्यवस्थापनका लागि नेपाल सरकारसँग यो बैठक माग गर्दछ ।
७. महेन्द्रनगर नगर विकास समितिको अवैध लिज प्रकरण र अवैध जग्गा अतिक्रमणबारे छानबिन गरी यथार्थ सार्वजनिक गरेर संलग्नमाथि कारवाही गर्न यो बैठक माग गर्दछ ।
८. कञ्चनपुर जिल्लामा ४० वर्षदेखि समस्याका रूपमा रहेको शुक्लाफाँटा आरक्ष÷निकुञ्जबाट विस्थापित नागरिकहरूको समस्या समाधान गर्न यो बैठक नेपाल सरकारको ध्यानाकर्षण गर्दछ ।
९. कञ्चनपुर जिल्लाको दैजी–लिप्ना–जोगबुढा–बुडर सडकखण्ड, कलुवापुर–बेलौरी सडकखण्ड, बंक–नाइल सडकखण्ड लगायत सडक निर्माण कार्यका लागि आवश्यक बजेट व्यवस्थापन गर्न यो बैठक संघीय सरकार र प्रदेश सरकारसँग माग गर्दछ ।
१०. विपद् व्यवस्थापनका लागि आवश्यक प्रबन्ध गर्न जिल्ला प्रशासन कार्यालय, स्थानीय तह लगायत सरोकारवाला सबैको यो बैठक ध्यानाकर्षण गर्दछ । साथै नदी कटान, बाढी, डुवान हुने जोखिमलाई मध्यनजर गरी आवश्यक पूर्व तयारीका बजेट बजेट विनियोजन गर्न सरकारसँग यो बैठक माग गर्दछ ।
११. किसानका लागि आवश्यक बिउबिजन र मलखादको आवश्यक प्रबन्ध समयमै गर्न सरकार सरोकारवाला निकायको यो बैठक ध्यानाकर्षण गर्दछ ।
१२. लामो समयदेखि बन्द रहेको मझगाउँ विमानस्थल सञ्चालनका लागि एमाले नेतृत्वको सरकारले अगाडि बढाएको प्रक्रिया अवरुद्ध गरेर काम रोकिएकाले यथाशीघ्र विमानस्थल पुनर्निर्माण कार्य सम्पन्न गर्न यो बैठक माग गर्दछ ।
१३. उखु किसानको समस्या समाधान गर्न यो बैठक नेपाल सरकार र जिल्ला प्रशासन कार्यालयको ध्यानाकर्षण गर्दछ ।
१४. कञ्चनपुर जिल्लामा लामो समयदेखि रहेको सीमा विवाद समाधान गर्न यो बैठक सरकारसँग माग गर्दछ ।
१५. माध्यमिक तहसम्मको शिक्षालाई पूर्ण निःशुल्क र गुणस्तरीय बनाउन सामुदायिक विद्यालयमा आवश्यक शिक्षक दरबन्दीको व्यवस्था मिलाउन यो बैठक सरकासँग माग गर्दछ । साथै सामुदायिक र संस्थागत विद्यालयले विद्यार्थी र अभिभावकबाट लिने गरेको मनपरी शुल्क रोक्न स्थानीय सरकारसँग यो बैठक माग गर्दछ ।
१६. नेपालको अधिकांश युवाशक्ति विदेश पलायन भइरहेको सन्दर्भमा स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्ने योजना ल्याउन यो बैठक सरकारसँग माग गर्दछ ।
१७. नेपाल–भारत सीमामा सामान आयात–निर्यात गरी जीविकोपार्जन गरिरहेका मजदुर र श्रमिकलाई झमेलामा पार्ने र दुःख दिने व्यवस्था अन्त्य गरी नियमानुसार आवश्यक सहजीकरण गर्न यो बैठक माग गर्दछ ।
(लक्ष्मी बुढा)
अध्यक्ष



