सुदूरपश्चिममा फैलिँदै लागुऔषध, १७९ विरुद्ध मुद्दा

प्रकाशित:

महेन्द्रनगर । सुदूरपश्चिममा लागुऔषध फैलिँदै गएको छ। प्रदेशभित्र लागुऔषध सेवन, ओसारपसार र विक्रीवितरणमा संलग्नको संख्या बढ्दै गएको हो। कैलाली र कञ्चनपुरबाट मात्र दैनिक चार जनाको हाराहारीमा लागुऔषधमा संलग्नहरु पक्राउ पर्ने गरेका छन्।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार लागुऔषधमा सबैभन्दा बढी युवा संलग्न देखिएका छन्। यसका साथै किशोर र किशोरी समेत फेला पर्ने गरेका छन्। प्रहरीले लागुऔषध विरुद्ध महा–अभियान नै चलाएको छ।

प्रदेश प्रहरी कार्यालयका अनुसार चालु आर्थिक वर्षको साउनदेखि माघ मसान्तसम्म मात्र लागुऔषध सेवन, ओसारपसार र विक्रीवितरणमा संलग्न एक सय ७९ जना विरुद्ध मुद्दा चलाइएको छ।
जिल्ला कारागार कैलाली लागुऔषध मुद्दाका अभियुक्तले भरिभराउ छ। उता कञ्चनपुरमा पनि लागुऔषधमा संलग्न व्यक्तिका कारण कारागार भरिएको छ।

सबैभन्दा बढी कैलाली र कञ्चनपुरबाट लागुऔषधमा संलग्नहरु पक्राउ पर्ने गरेका छन्। युवासँगै युवती समेत यस कार्यमा संलग्न हुने गरेको पाइएको हो। पहाडी जिल्लाबाट समेत लागुऔषध प्रयोकर्ता पक्राउ पर्नेक्रम बढ्दो छ। पक्राउ परेका ९० प्रतिशत १४ वर्षदेखि ३६ वर्षका प्रयोगकर्ता बढी रहेको विभिन्न जिल्लाका जिल्ला प्रहरी कार्यालयको तथ्यांकले देखाएको छ।

कैलाली र कञ्चनपुरमा औसतमा दैनिक ४ जना युवायुवती लागूऔषधसहित पक्राउ पर्ने गरेका छन्। पक्राउ पर्नेमध्ये १४ देखि ३६ वर्ष उमेर समूहका बढी छन्। यो संख्या निरन्तर बढ्दै गएको छ। धनगढी, महेन्द्रनगरजस्ता प्रदेशका प्रमुख सहरी क्षेत्रभन्दा पनि तीन वर्षयता ग्रामीण भेगका युवायुवती लागूऔषध सेवन र ओसारपसारमा लागेको पाइएको छ।

पक्राउ परेकामध्ये पनि अधिकांश ग्रामीण भेगमा बसोबास गर्ने परिवारका किशोरकिशोरी र युवायुवती रहेको प्रहरी तथ्यांकले देखाएको हो। कैलाली र कञ्चनपुरका दुवै कारागारमा सबैभन्दा बढी लागूऔषध मुद्दाका कैदीबन्दी छन्।

कैलाली र कञ्चनपुरमा लागूऔषध कुलतमा फसेकाहरूको पुनस्र्थापनाका लागि खुलेका डेढ दर्जन बढी पुनस्र्थापना केन्द्रहरू छन्। व्यक्तिगत लगानीमा खुलेका ती केन्द्रहरूमा तीन वर्षयता ४ सय बढी कुलतमा फसेका किशोर÷किशोरी र युवा÷युवतीहरूको पुनस्थापर्ना गरिएको छ।

ताजा समाचार

सम्बन्धित समाचार