महेन्द्रनगर । कञ्चनपुर र कैलालीमा छिमेकी मुलुक भारत संग सीमा जोडिएका सीमा स्तम्भहरुको मर्मत सम्भार तथा रङ्गरोगनको कार्य प्रारम्भ गरिएको छ ।

सोमबार कञ्चनपुर र कैलालीमा भारत संग जोडिएका स्तम्भहरु (पिलर) को मर्मत सम्भार तथा रङ्गरोगनको कार्य प्रारम्भ गरिएको हो ।

दुबै देशमा सीमा सुरक्षार्थ खटिएका निकायहरुले सीमा स्तम्भहरुको मर्मत कार्य सुरु गरेको हो । कञ्चनपुरको पुनर्वास–११ डोकेबजारमा रहेको ७५३ (१७१)नम्बर सीमा पिलरदेखि मर्मत कार्य सुरु गरिएको सशस्त्र प्रहरी बल नेपाल ३५ नम्बर शैलेश्वरी गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक प्रेमबहादुर रावलले बताए ।

भारतीय प्रशासन, सीमा सुरक्षा बल(एसएसबी) सहितका अधिकारीको उपस्थितिमा सीमा स्तम्भको मर्मत कार्य सुरु गरिएको हो ।
कञ्चनपुरमा ६६ ओटा सीमा स्तम्भहरु मर्मत सम्भार तथा रङ्गरोगन गर्नु पर्नेछन् । जसमध्ये रंगरोगन मात्रै गर्नुपर्ने ३० ओटा, समान्य मर्मत गर्नुपर्ने १६ ओटा, मध्यमस्तरको मर्मत गनुपर्ने १७ ओटा र पुर्ण मर्मत गर्नुपर्ने ३ ओटा सीमा स्तम्भहरु छन् ।
नेपालले बिजोर सीमा स्तम्भ र भारतले जोर सीमा स्तम्भ मर्मत सम्भार तथा रङ्गरोगन गर्ने मापदण्ड तयभए अनुरुप आजदेखि नेपालले बिजोर सीमा स्तम्भहरुमा मर्मत सम्भार तथा रङ्गरोगनको कार्य थालेको हो ।
भारतले यस अघि नै जोर सीमास्तम्भहरुमा मर्मत सम्भार तथा रङ्गरोगन गरिसकेको छ ।
सीमा स्तम्भहरुको निर्माण मर्मत सम्भार र पुर्नस्थापना सम्बन्धी मापदण्ड ०८० अनुरुप नेपालले काम थालेको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले बताए ।
‘सीमा पिलर मर्मत कार्यबाट दुवै देशको सीमा स्तम्भलाई स्पष्ट हुँने हुँदा विवाद उत्पन्न हुने अवस्था हुँदैन ।’ प्रमुख जिल्ला अधिकारीअधिकारीले भने– ‘सीमालाई यथास्थितिमा राख्नदेखि दुबैतर्फ सीमा सुरक्षाका लागि समेत जिर्णेत्तर भएका सीमा पिलर मर्मत आवश्यक रहेको रहेका थिए । आजबाट हामीले उक्त कामको थालनी गरेका छौं ।’
आज पुनर्वास–११ डोके बजारदेखि थालिएको सीमा स्तम्भ मर्मत सम्भार तथा रङ्गरोगनको कार्य जिल्लाका सबै सीमास्तम्भको पुर्णतयाः मर्मत सम्भार तथा रङ्गरोगन नसिद्धिदा सम्म जारी रहने छ ।