
किशोर तामाङ
पुनर्वास, २९ भदौ २०८३ । कञ्चनपुरको दक्षिणी क्षेत्रमा पर्ने पुनर्वास नगरपालिकाको आईबीआरडी बजारमा पछिल्लो समय अराजक गतिविधि बढ्दै गएपछि स्थानीयवासीमा सुरक्षा चिन्ता बढेको छ।

साँझ पर्नासाथ मोटरसाइकल तीव्र गतिमा हुइँक्याउने, पट्काउने, अश्लील शब्द प्रयोग गर्दै होहल्ला गर्ने तथा समूहबीच झडप हुनेजस्ता गतिविधि बढ्दै गएपछि बजारवासी त्रसित बनेका छन्।

यसैबीच, आईबीआरडी बजारको मुख्य क्षेत्रस्थित गुगल मोबाइल ग्यालरी चोक अर्थात् अस्थायी प्रहरी पोस्टनजिकै चार–पाँच जनाको समूहमा आएका युवाले एक युवकलाई खुकुरी प्रहार गर्नुका साथै निर्घात कुटपिट गरेको घटना सार्वजनिक भएको छ।

खुकुरी प्रहारबाट बेलडाँडी गाउँपालिका–३, कमरी निवासी तुलसी रानाका २४ वर्षीय छोरा इन्द्र राना घाइते भएका छन्। राना पुनर्वास नगरपालिका–३ स्थित आईबीआरडी बजारमा रहेको मंगोलियन हार्डवेयरमा लामो समयदेखि कार्यरत रहेको बताइएको छ।
खुकुरी प्रहार तथा कुटपिटबाट घाइते भएका रानालाई स्थानीयवासीले उद्धार गरी उपचारका लागि पुनर्वास पोलिक्लिनिक पुर्याएका थिए। उनको हाल सोही पोलिक्लिनिकमा उपचार भइरहेको छ।
अस्थायी प्रहरी पोस्टनजिकै खुकुरी प्रहार तथा कुटपिटको घटना हुँदा समेत प्रहरीको उपस्थिति नदेखिएको भन्दै बजारवासीले असन्तुष्टि व्यक्त गरेका छन्। नागरिकको जीउधनको सुरक्षा राज्यको पहिलो दायित्व भए पनि जानलेवा आक्रमणजस्तो गम्भीर घटना हुँदा प्रहरीको प्रभावकारी उपस्थिति नहुनु दुःखद् भएको उनीहरूको भनाइ छ।
स्थानीयवासीका अनुसार पछिल्ला दिनमा साँझ पर्नासाथ बजार क्षेत्रमा मोटरसाइकल तीव्र गतिमा कुदाउने तथा पट्काउनेजस्ता गतिविधि हुने गरेका छन्। यस्ता गतिविधि भइरहँदा पनि नजिकै रहेको अस्थायी प्रहरी पोस्ट प्रभावकारी रूपमा सक्रिय हुन नसकेको भन्दै स्थानीयले गुनासो गरेका छन्।
बजारवासीले अराजक गतिविधिमा संलग्न समूहका कारण आफूहरू असुरक्षित महसुस गर्न थालेको बताएका छन्। जनशक्ति अभाव देखाउँदै सुरक्षा चुनौती समाधानबाट पन्छिने प्रवृत्ति अन्त्य गरी नियमित प्रहरी गस्ती र निगरानी बढाउन उनीहरूले माग गरेका छन्।
यसबारे इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीका इन्चार्ज प्रहरी निरीक्षक लोकेन्द्रबहादुर कार्कीसँग बुझ्दा आफूहरू रातदिन सुरक्षामा खटिरहेको र मातहतका अस्थायी प्रहरी पोस्टलाई समेत आवश्यकताअनुसार परिचालन गर्न निर्देशन दिएको बताउनुभयो।
घटनामा चार–पाँच जनाको समूहमा आएका युवाले रानामाथि खुकुरी प्रहार गरी फरार भएको प्रहरी निरीक्षक कार्कीले जानकारी दिनुभयो। घटनामा संलग्न व्यक्तिहरूको खोजी भइरहेको र आवश्यक अनुसन्धान अघि बढाइएको उहाँले बताउनुभयो।
बजार क्षेत्रमा बढ्दै गएको अराजक गतिविधि नियन्त्रण गर्न नियमित प्रहरी गस्ती, सीसीटीभी निगरानी तथा स्थानीय प्रहरी पोस्टको सक्रियता बढाउनुपर्ने माग स्थानीयवासीले गरेका छन्।


