किशोर तामाङ
कञ्चनपुर, २८ भदौ २०८३। कैलालीको कैलारी गाउँपालिका–४ ‘के गाउँ’मा जारी २७औँ निसर्ग हस्पिटल महिला तथा पुरुष फुटबल प्रतियोगिता–२०८३ अन्तर्गत महिलातर्फको सेमिफाइनल खेल आजदेखि सुरु हुने भएको छ।

महिलातर्फको पहिलो सेमिफाइनलमा न्यू कालिका युवा क्लब (पुनर्वास ग्रासरुट) र बनदेवी समन्वय युवा क्लबबीच प्रतिस्पर्धा हुँदैछ। खेल आज दिउँसो ४ बजे हुने आयोजकले जनाएको छ।

न्यू कालिका युवा क्लब (पुनर्वास ग्रासरुट)का प्रशिक्षक हिमाल मल्लका अनुसार उनको टोलीले क्वाटरफाइनलमा जनस्मरण राजी क्लबलाई पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको हो।

न्यू युथ सुन्दर शक्ति युवा क्लब (एनवाईएसएससी), कैलारी–४ को आयोजनामा भइरहेको प्रतियोगिता थारू समुदायको पर्व अटवारी तथा हिन्दु नारीहरूको पर्व हरितालिका तीजको अवसरमा आयोजना गरिएको हो। क्लबले विसं २०५७ सालदेखि अटवारी र तीजको अवसरमा फुटबल प्रतियोगितासँगै मेलासमेत आयोजना गर्दै आएको छ।
प्रतियोगिताको मुख्य प्रवर्द्धक कैलारी गाउँपालिका र सह–प्रवर्द्धक कैलारी गाउँपालिका–४ को वडा कार्यालय रहेका छन्। प्रतियोगिताको मुख्य प्रायोजक निसर्ग हस्पिटल एन्ड रिसर्च सेन्टर प्रालि., धनगढी–५, हसनपुर, कैलाली रहेको छ।
अटवारी तथा हरितालिका तीजको अवसरमा आयोजना गरिएको प्रतियोगिता भदौ २० गतेदेखि ३१ गतेसम्म सञ्चालन हुनेछ। पुरुषतर्फको विजेताले १ लाख रुपैयाँ र उपविजेताले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। यस्तै, महिलातर्फको विजेताले ४० हजार रुपैयाँ र उपविजेताले २५ हजार रुपैयाँ पुरस्कार पाउने आयोजकले जनाएको छ।


