काठमाडौँ। नेकपा एमालेले आज सुदूरपश्चिम प्रदेशका एमाले सांसदहरुसँग छलफल गर्दैछ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले आज बिहान ११ बजे आफ्नै निवास भक्तपुरको गुण्डुमा सुदूरपश्चिमका ११ सांसदसँग छलफल गर्न लागेका हुन् ।
पछिल्लो समय संसदीय दलको नेता परिवर्तनको विषय उठेपछि अध्यक्ष ओलीले सामूहिक छलफलमार्फत निर्णय लिन लागेका हुन् ।

दलको नेता परिवर्तनको माग गर्दै तीन जना सांसदले केही समयअघि शीर्ष नेताहरूसँग परामर्श गरेका थिए । उपनेता सन्तोष शर्मा थापा र प्रमुख सचेतक चक्र मल्ल नेतृत्वको दौडमा देखिएका छन् ।

बैठकमा नेतृत्वको विषयसँगै सत्ता सहकार्य र मन्त्री हेरफेरको मुद्दा पनि छलफलमा रहनेछ । विशेषगरी नेपाल कम्युनिस्ट पार्टी (नेकपा)सँग सहकार्यको सम्भावना र त्यसको सुरुवात सुदूरपश्चिमबाट गर्ने विषयमा नेतृत्व तहमा छलफल भइरहेको छ ।

यस्तै, प्रदेश सरकारमा रहेका मन्त्रीहरूको कार्यकाल दुई वर्ष नाघिसकेको भन्दै केही सांसदहरूले मन्त्री हेरफेरको माग समेत गरेका छन् । हाल सुदूरपश्चिममा एमालेका तीन मन्त्री र एक राज्यमन्त्री छन्।


