
कञ्चनपुर, १८ माघ ।
कञ्चनपुरको भीमदत्त नगरपालिका–१० तिल्केनीस्थित शान्ति सामुदायिक वनमा एक अज्ञात युवतीको शव फेला परेको छ । सामुदायिक वनभित्र रहेको बंग्यादोल खोलानजिकको ओढारमा शनिबार अर्धनग्न अवस्थामा युवतीको शव भेटिएको हो ।

घाँस–दाउरा काट्न वन गएका स्थानीयले शव देखेपछि प्रहरीलाई जानकारी गराएका थिए । सूचनापछि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोली घटनास्थलमा पुगेर मुचुल्का उठाई शवलाई पोस्टमार्टमका लागि महाकाली प्रादेशिक अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार शव जुत्ता र कपडालाई सिरान बनाएर सुतेको जस्तो अवस्थामा फेला परेको हो । शव अन्दाजी २५ वर्षीया युवतीको भएको अनुमान गरिएको छ । शव सड्न थालेको अवस्थामा भेटिएको र अनुहारसहित शरीरका अन्य भागहरू पनि क्षतविक्षत अवस्थामा रहेका छन् ।

प्रारम्भिक अनुसन्धानका आधारमा करिब एक साताअघिदेखि शव उक्त स्थानमा रहेको हुन सक्ने प्रहरीको आशंका छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक खडकबहादुर खत्रीले वन क्षेत्रमा अज्ञात युवतीको शव फेला परेको तर हालसम्म पहिचान खुल्न नसकेको जानकारी दिनुभयो ।
उहाँका अनुसार घटनाको प्रकृति गम्भीर रहेकाले सबै कोणबाट आवश्यक अनुसन्धान भइरहेको छ । घटनास्थलबाट भेटिएका जुत्ता र कपडाका तस्बिर सार्वजनिक गरिएको र ती सामग्रीका आधारमा कसैले पहिचान गर्न सकेमा मृतकका परिवार वा आफन्तलाई जानकारी गराई महाकाली प्रादेशिक अस्पताल वा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्न कञ्चनपुर प्रहरीले अनुरोध गरेको छ ।


