पचुई प्रहरी चौकीका इन्चार्जमाथि कुटपिट गर्ने तीन जना पक्राउ

प्रकाशित:

-हरिस ऐर ।
महेन्द्रनगर । कञ्चनपुरमा नेपाल प्रहरीका एक असईमाथि कुटपिट गरेको आरोपमा तीन जना स्थानीयवासी पक्राउ परेका छन्। बेलौरी नगरपालिका–८ स्थित पचुई प्रहरी चौकीका इन्चार्ज असई वीरबहादुर चन्दमाथि कुटपिट गर्ने घटनामा संलग्न भएको आरोपमा तीन जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

प्रहरी नायब उपरीक्षक (डिएसपी) सागर बोहराका अनुसार, पक्राउ पर्नेमा राहुल राना, कलीराम चौधरी र दुम्ली चौधरी रहेका छन्। उनीहरूलाई ‘अभद्र व्यवहार’ सम्बन्धी मुद्दामा अनुसन्धान प्रक्रिया अघि बढाइएको छ।

जेठ २१ गते दिउँसो असई चन्दमाथि स्थानीय १०–१५ जनाको समूहले लछारपछार गर्दै कुटपिट गरेको भिडियो मङ्गलवार सार्वजनिक भएपछि घटना सार्वजनिक चासोको विषय बनेको हो।

भारतबाट लुकाइछिपाई ल्याउन खोजिएको मल–खादसम्बन्धी विषय रहेको बुझिएको छ। रोपाईंको समय नजिकिँदै जाँदा किसानहरूले भारतबाट मल ल्याउने प्रयास गर्दा प्रहरीले अवरोध गरेपछि झडपको अवस्था सिर्जना भएको स्थानीय पदम रानाले बताएका छन्। हाल घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

ताजा समाचार

सम्बन्धित समाचार