कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरमा डिजिटल शिक्षाको नयाँ युगको सुरुआत गर्दै पहिलोपटक प्रिमियम डिजिटल बजार प्रवर्द्धन कोर्स सुरु गरिएको छ। देवल टेक्निकल इन्स्टिच्युट प्रा.लि. र डिजी आइटी प्रा.लि. को सहकार्यमा सुरु गरिएको यो कोर्सले सुदूरपश्चिममा डिजिटल सीप शिक्षाको क्षेत्रमै कोसेढुंगा सावित हुने अपेक्षा गरिएको छ।

देवल टेक्निकल इन्स्टिच्युटका सञ्चालक हिक्मत बुढाले महेन्द्रनगरमै पहिलोपटक यस्तो कोर्स सुरु भएको दाबी गर्दै यसले विद्यार्थीहरूलाई डिजिटल युगमा आवश्यक पर्ने व्यावहारिक सीपहरू प्रदान गर्ने बताए। “यो कोर्सले विद्यार्थीहरूलाई डिजिटल युगमा प्रतिस्पर्धी बनाउनेछ,” बुढाले भने।

कोर्समा समावेश विषयहरूमा डिजिटल बजार प्रवर्द्धन (डिजिटल मार्केटिङ), भिडियो सम्पादन, सामग्री सिर्जना (कन्टेन्ट क्रिएसन), ग्राफिक डिजाइन, स्क्रिप्ट लेखन, स्वतन्त्र पेशा (फ्रिल्यांसिङ), र नरम सीपहरू (सफ्ट स्किल्स) पर्दछन्। सैद्धान्तिक ज्ञानसँगै व्यावहारिक अभ्यासमा जोड दिइएको यो कोर्स रोजगारीमुखी बन्ने लक्ष्यसहित तयार पारिएको हो।

डिजी आइटी प्रा.लि. सँगको सहकार्यबाट विद्यार्थीहरूलाई शतप्रतिशत इन्टर्नसिप र रोजगारीको अवसर सुनिश्चित गरिने प्रतिबद्धता गरिएको छ। “हामी डिजी आइटी जस्तो अनुभवी संस्थासँग मिलेर विद्यार्थीहरूलाई सिकाइसँगै रोजगारी सुनिश्चित गर्नेछौं,” बुढाले बताए।
यो पहलले शिक्षा र रोजगारीबीचको खाडललाई कम गर्दै सुदूरपश्चिमका युवाहरूलाई डिजिटल क्षेत्रमा आत्मनिर्भर बनाउने विश्वास गरिएको छ।