महेन्द्रनगर । सुदूरपश्चिम विश्वविद्यालयले निर्माण व्यवसायीको भुक्तानी नदिएको भन्दै निर्माण व्यवसायी संघ कञ्चनपुरले आन्दोलन गर्ने चेतावनी दिएको छ ।

संघले आइतबार निर्माण व्यवसायी संघमा पत्रकार सम्मेलन गरी विश्वविद्यायको केन्द्रीय कार्यालय सहित दिन बाँकी भवनमा तालाबन्दी सात दिनको अल्टिमेटम दिएर तालाबन्दी गर्ने चेतावनी दिएको हो ।

सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा।डा। हेमराज पन्तले नयाँ रजिष्ट्रार नियुक्त भएपछि छिटो भुक्तानी दिने आश्वासन दिएकाले सात दिनपछि तालाबन्दी गरिने संघका अध्यक्ष निरञ्जन प्रसाद भट्टले बताए ।

‘प्रक्रिया अनुसार निर्माण कामकाज भएको छ, असोज काम सम्पन्न गरी बिल पेश गरिएको छ, अहिलेसम्म भुक्तानी दिइएको छैन’ पत्रकार सम्मेलनम उनले भने,‘भिसी सापले नयाँ रजिष्ट्रार नियुक्त भएपछि भुक्तानी दिने आश्वासन दिनु भएको छ, सात १० दिानभित्र भुक्तानी गर्छौ भन्नु भएको छ, त्यस कारण सात दिनसम्म हामी पर्खन्छौ, त्यसपछि तालाबन्दी गर्छौ ।’
विश्वविद्यालयसित भुक्तानीका लागि पटक पटक आग्रह गरिए पनि आलटाल गरी व्यवसायीलाई मार्कामा पार्ने कार्य गरेको अध्यक्ष भट्टले बताए ।
विश्वविद्यालयका निवर्तमान रजिष्ट्रार यज्ञराज पाठकले निर्माण सकिएपछि व्यवसायीको भुक्तानी दिन आलटाल गर्दै आएका थिए । कार्यकालका अन्तिम दुई दिनमा रजिष्ट्रार पाठकले भुक्तानी प्रक्रिया अघि बढाएका थिए ।
लामो समय रोकेर राखिएको भुक्तानी कार्यकाल सकिन लाग्दा दिन थालेपछि पाठक विवादमा तानिएका थिए । विद्यार्थी संगठनले तालाबन्दी गरेपछि उनी भुक्तानी नदिन नसकेर विदा भएका छन् ।
पाठकको शनिबार कार्यकाल सकिएको छ । विद्यार्थीले लेखा, प्रशासन र पाठकको कार्यकक्षमा तालाबन्दी गरेका छन् । तालाबन्दीपछि भिसी पन्त काठमाडांै हिँडेका छन् ।
भिसी पन्त र रजिष्ट्रार पाठक नातेदार हुन् । नाताले पाठक भिसी पन्तका मामा पर्छन् । पाठकले भुक्तानीलाई भिसी पन्तलाई अन्तिम समयममा दबाव दिएका थिए ।
निर्माण व्यवसायीले विश्वविद्यालयले अवैधानिक निर्माण समिति गठन गरी आफूहरुलाई अनावश्यक दबाव दिन लगाएको आरोप समेत लगाएका छन् । रजिष्ट्रार पाठकको अध्यक्षतामा निर्माण समिति गठन गरिएको थियो ।
समितिले रजिष्ट्रार पाठकको निर्देशनमा गरिएको भेरिएसन लगायतको निर्माण कार्य छानबिन गरी भुक्तानी दिनु पर्ने अडान राख्दै आएको छ । रजिष्ट्रार पाठकले मनपरी रुपमा भेरिएसन गराएको समितिका सदस्यहरुको आशंका छ ।
विश्वविद्यालयको केन्द्रीय कार्यालय भवन, व्यवस्थापन संकाय र इन्जिनियरिङ्ग संकाय भवन निर्माणको भुक्तानी दिन बाँकी छ । संघका अनुसार इन्जिनियरिङ्ग संकाय एमके बिल्डर्सलाई १ करोड २० लाख, केन्द्रीय कार्यालय भवन निर्माणमा कुमार अमृत जेभी १ करोड ४५ लाख र व्यवस्थापन संकाय भवन निर्माण प्रशंसा कन्स्ट्रक्सनलाई १ करोड ४७ लाख भुक्तानी दिन बाँकी छ ।
संघका केन्द्रीय सदस्य प्रेम प्रकाश भट्ट सहित संघका पदाधिकारी, व्यवसायी सहभागी पत्रकार सम्मेलनमा उनीहरुले व्यवसायीलाई चौतर्फी मारमा पार्ने कार्य हुँदै आएको भन्दै चिन्ता व्यक्त गरे ।
संघले यस अघि गत साउनमा भुक्तानी नपाएपछि केही सरकारी कार्यालयमा तालाबन्दी गरेको थियो ।