काठमाडौँ । छोरीको विवाह आगामी वैशाख ३ गते हुने निधो भएको थियो । विवाहका लागि आवश्यक तयारी चलिरहेको समयमा छोरीले ‘इङ्गेजमेन्ट’ गरेको केटासँग आमा नै फरार भएको घटना प्रकाशमा आएको छ ।

यो घटना भारतको उत्तर प्रदेश राज्यको अलीगढ जिल्लामा भएको हो । जितेन्द्र नाम गरेका व्यक्तिले आफ्नी पत्नी घरबाट भागेको भन्दै प्रहरीमा उजुरी दिएका छन् । उनले नगद तथा गहनासमेत लिएर पत्नी फरार भएको जनाएका हुन् ।
जितेन्द्रलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाए अनुसार उनकी छोरीको विवाह गर्ने तयारी चलिरहेको थियो । छोरीले ‘इङ्ग्जेमेन्ट’ गरेकै केटासँग आफ्नी पत्नी फरार भएको उनको भनाइ छ ।

उनले पत्नीको खोजीका लागि प्रहरी समक्ष गुहार मागिरहेका छन् । अर्कोतिर उनकी छोरी सो घटनापछि बिरामी भएर अस्पतालमा भर्ना भएकी छन् ।पीडित युवतीलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यम ‘आजतक’ले आफ्नो अनलाइन संस्करणमा लेखेको छ, ‘मेरै आमा नै मेरो खुसीको दुश्मन बनेको भनेर मलाई विश्वास नै लागिरहेको छैन । यद्यपि मेरो सपना चकनाचुर भयो ।’

पारिवारिक स्रोतलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाए अनुसार पीडित युवतीकी आमाले नै हुनेवाला ज्वाइँलाई एउटा स्मार्टफोन उपलब्ध गराएकी थिइन् । उनीहरू दैनिक घण्टौँसम्म कुराकानी गर्ने गरेको बताइन्छ । यसै क्रममा उनीहरूबिच प्रेम सम्बन्ध बनेर विवाहका लागि भागेको विभिन्न सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
साभार :रातोपाटी