महेन्द्रनगर । वेदकोट नगरपालिकामा चलिरहेको निःशुल्क आँखा शिविरले स्थानीय बासिन्दालाई आँखा सम्बन्धी समस्यामा उपचार र सेवा उपलब्ध गराउँदै महत्वपूर्ण स्वास्थ्य कदम चालेको छ। यो शिविर चैत २१ गतेदेखि सुरु भएको हो र नगरपालिकाको आयोजनामा धनगढी नेत्रालय अस्पतालको प्राविधिक सहयोगमा सञ्चालन भइरहेको छ।

शिविरको पहिलो दिन चैत २१ गते वडा नम्बर १, २२ गते वडा नम्बर ३, र २३ गते वडा नम्बर ४ मा सम्पन्न भएको छ। आगामी दिनहरूमा अन्य वडामा शिविर आयोजना गरिने छ, जसमा २५ गते वडा नम्बर २, २६ गते वडा नम्बर ५, २७ गते वडा नम्बर ६, २८ गते वडा नम्बर ७, २९ गते वडा नम्बर ८, ३० गते वडा नम्बर ९ र ३१ गते वडा नम्बर १० मा निःशुल्क आँखा चेकजाँच र उपचार सेवा उपलब्ध गराइने छ।

नगर प्रमुख भोजराज बोहराले भने, “हाम्रो उद्देश्य ग्रामीण क्षेत्रका बासिन्दालाई घरमै गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनु हो, जसले गर्दा उनीहरूलाई आँखा उपचारका लागि टाढा जानुपर्ने बाध्यता हट्छ।

धनगढी नेत्रालयका अध्यक्ष गजेन्द्र बहादुर चन्दका अनुसार, शिविरमा आँखा चेकजाँच, मोतीबिन्दु र जल विन्दुको उपचार, साथै औषधि वितरणको व्यवस्था गरिएको छ। “यो सहकार्यले धेरैको जीवनमा उज्यालो ल्याउनेछ,” उनले विश्वास व्यक्त गरे।
स्वास्थ्य शाखा प्रमुख हरिसा पालले शिविरमा निःशुल्क चश्मा वितरण र मोतीबिन्दु तथा जल विन्दुका बिरामीका लागि उपचारको व्यवस्था गरिएको जानकारी दिइन्। साथै, यी बिरामीहरूको उपचारको लागि एकतर्फी गाडी भाडा पनि प्रदान गरिनेछ।
यो शिविर स्थानीय बासिन्दाहरूका लागि आँखा समस्याबाट मुक्ति प्राप्त गर्न र उनीहरूको जीवनस्तर सुधार गर्न महत्त्वपूर्ण भूमिका खेल्नेछ भन्ने अपेक्षा गरिएको छ।