काठमाडौं । नेपाल पत्रकार महासंघको टोलीले गृहमन्त्री रमेश लेखकलाई चैत १५ गते तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनका दौरान सञ्चारमाध्यम र सञ्चारकर्मीलाई लक्षित गरेर गरिएको आक्रमणको विषयमा ध्यानाकर्षण पत्र बुझाएको छ। महासचिव रामप्रसाद दाहालको नेतृत्वमा ८ सदस्यीय टोलीले घटनाको छानबिन गरेर दोषीलाई कारवाही गर्न माग गरेको हो।

गृहमन्त्री लेखकले उक्त घटनालाई अराजक र हिंस्रक जनसमूहको कार्य भनेका छन्। उनले स्पष्ट पारे, “तीनकुनेमा भएको प्रदर्शनको कुनै निश्चित वाद र सिद्धान्त थिएन, यो मात्र अपराधिक उद्देश्यको थियो।” उनले थपे, “यो विध्वशं मच्चाउने झुण्डले उग्रता देखायो, त्यसको मार पत्रकारलाई पर्न गएको छ, यस विषयमा नेपाल सरकार गम्भिर छ ।”

हिंसात्मक प्रदर्शनका क्रममा सञ्चारकर्मी रहेको घरमा आगजानी गर्ने, एवम् संचार गृहमा र सञ्चारकर्मीलाई निसाना बनाएको विषयमा सरकारले सत्यतथ्य छानवीन गरि घटनाका दोषीलाई कारवाही गरिने गृहमन्त्री लेखकले बताए ।

यसैगरि उक्त घटनाबाट ज्यान गुमाएका पत्रकार सुरेश रजक र अन्य घाइते पत्रकारहरुको विषयमा सरकार गम्भिर भएको र उक्त विषयमा के गर्न सकिन्छ भन्ने विषयमा सरकार लागिरहेको उहाँको भनाई छ ।