कञ्चनपुरका ६ क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन, मतदान जारी

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरका विभिन्न ६ क्याम्पसमा त्रिभुवन विश्वविद्यालयअन्तर्गत स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन भइरहेको छ। मतदान मंगलबार त्रिभुवन विश्वविद्यालयले तोकेको समयमा सुरु भएको क्याम्पसहरूले जनाएका छन्।

रौलेश्वर जनता आदर्श बहुमुखी क्याम्पस बेलडाँडी, रामपुर बहुमुखी कलकत्ता, महाकाली बहुमुखी क्याम्पस बेलौरी, जनता बहुमुखी क्याम्पस पुनर्वास, कञ्चन बहुमुखी क्याम्पस गुलरिया र भानु बहुमुखी क्याम्पस दोधारामा निर्वाचन जारी छ।

यसअघि कृष्ण बैजनाथ र दानेश्वर बहुमुखी क्याम्पसमा निर्विरोध स्ववियु चयन भएको थियो। कञ्चन बहुमुखी क्याम्पस गुलरिया र भानु बहुमुखी क्याम्पस दोधारामा मतदान प्रक्रिया जारी राखिएको छ। यद्यपि त्रिविको आंगिक क्याम्पस सिद्धनाथ विज्ञानसहित कञ्चन विद्यामन्दिर सामुदायिक कलेज, जनज्योति, घटाल, उदयसरस्वती र वारिधि, बालजागृतिमा निर्वाचन हुन लागेको छैन। सिद्धनाथ विज्ञान क्याम्पसले धम्कीले निर्वाचन गर्न नसकिएको भन्दै स्थगन गरेको छ। सत्ताधारी अनेरास्ववियुले वारिधि, बालजागृतिमा तालाबन्दी गरेको छ ।

अखिल क्रान्तिकारी कञ्चनपुरका अध्यक्ष दलबहादुर धामीले मतदानमा उत्साहपूर्ण प्रतिक्रिया व्यक्त गर्दै, नेता बन्ने प्रक्रिया विद्यार्थीबाटै चयन गर्नका लागि निर्वाचन महत्त्वपूर्ण रहेको बताएका छन्। निर्वाचन प्रक्रियामा नेविसंघले पूर्ण सघाइरहेको जनाएको छ।

ताजा समाचार

सम्बन्धित समाचार