शुक्लाफाँटामा अति विपन्न परिवारका लागि घर निर्माण गरिदै

प्रकाशित:

झलारी । कन्चनपुरको शुक्लाफाटा नगरपालिका–१० मा अति विपन्न परिवारका लागि घर निर्माण कार्य सुरु भएको छ । ह्याबिट्याट फर ह्युम्यानिटी नेपाल र निड्स नेपालको साझेदारीमा अति विपन्न परिवारका लागि घर निर्माण कार्य अगाडि बढाइएको नगरपालिकाले जनाएको हो ।

शुक्रबार देखी पालिकाको वडा नं. १० स्थित सिमलखेतमा अति विपन्न परिवारका लागि ११ घर निर्माणको कार्य अगाडि बढेको नगरप्रवक्ता एवम् वडा अध्यक्ष लालबहादुर ऐरले जानकारी दिए ।

उनका अनुसार नगरपालिकाको २५ लाख, ह्याबिट्याट फर ह्युम्यानिटी नेपाल, निड्स नेपालको २५ लाख र अन्य सर्वदान गरि ११ वटा घर ७० लाखमा निर्माण कार्य सुरु भएको छ ।

शुक्लाफाँटाका सबै वडाका विपन्न परिवारका लागि घर निर्माण गर्ने योजना रहेको उपप्रमुख कल्पना पन्तले बताइन् । १२ वटै वडाहरुमा गरिब तथा विपन्न परिवार छन्, उनीहरुका लागि घर निर्माण गर्न संघसंस्थाहरुसँग सहकार्य गर्नेछौं,’ उनले भनिन्, ‘वडा नं. १० मा निर्माण भइरहेका घरहरुको काम समयै सक्नुपर्छ, घर निर्माण भएपछि विपन्न परिवारले झुपडीमा बस्नुपर्ने बाध्यताको अन्त्य हुनेछ।’

शुक्लाफाँटा नगरपालिकाका सामाजिक विकास समिति संयोजक रमेशबहादुर ऐरले गरिब तथा विपन्न परिवारका घर बनाउन नगरपालिकाले बजेट विनियोजन गरिसकेको बताए।

‘घर निर्माण भएपछि यो बस्ती नगरमै नमूना बन्नेछ,’ उनले भने,‘नागरिक आवास कार्यक्रमले विपन्न परिवारको जीवनस्तरमा समेत सुधार ल्याउनेछ।’

शुक्रबार सिमलखेत सामुदायिक सुरक्षित आवास कार्यक्रम निर्माण समितिका अध्यक्ष गणेश सार्कीको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि नगर उपप्रमुख कल्पना पन्तले घर निर्माणको शिलान्यास गरेकी थिइन्।

ताजा समाचार

सम्बन्धित समाचार