आमालाई तीर्थ गराउन हिँडेका अवस्थी प्रयागराज पुग्नै पाएनन्

प्रकाशित:

कञ्चनपुर। कञ्चनपुरको भीमदत्त नगरपालिका–११ वनगाउँका ४९ वर्षीय जगदीशचन्द्र अवस्थी परिवारसहित तीर्थाटनमा जाने तयारीमा थिए।

भारतको प्रयागराजको महाकुम्भमा जाने भनेर केही दिन अघिदेखि परिवार, इष्टमित्रसँग कुराकानी गरेका थिए। अवस्थीले आइतबार प्रयागराज महाकुम्भमा जाने निधो गरे। उनीसँग आमा सीता र माइजूहरू थिए।

आइतबार बिहान गाडी बुक गरेर प्रयागराजतर्फ तीर्थाटनमा निस्केका थिए। भारतको लखनउ पुग्नुअगावै अवस्थी दुर्घटनामा परे। आइतबार बेलुकातिर बसको ठक्करबाट गम्भीर घाइते भएका अवस्थीको उपचारको क्रममा भारतको अस्पतालमा मृत्यु भएको हो।

‘केही दिनअघि हामीसँग पनि तीर्थ जानेबारे कुरा भएको थियो। हामी पनि जाने तयारीमा थियौँ,’ अवस्थीका काका नाता पर्ने डिलानन्द अवस्थी भन्छन्, ‘हाम्रो केही ढिला हुने भएपछि उहाँहरू जानुभएको थियो। तर, बाटोमै त्यस्तो दुःखद् घटना भयो।’

उनका अनुसार, लखनउनजिक नास्ता गर्न उनीहरू रोकिए। गाडीबाट निस्किएर अवस्थी आमा र माइजूहरूका लागि फलफूल ल्याउन बाटो काटेर अर्कोतर्फ गइरहेका थिए।

त्यसै बेला आएको बसले उनलाई ठक्कर दिएको थियो। गम्भीर घाइते भएका अवस्थीको उपचारको क्रममा मृत्यु भएको काका डिलानन्दले बताए।

आमालाई तीर्थ गराउन हिँडेका अवस्थी दुर्घटनामा आफैं ढलेपछि उनको तीर्थाटनको सपना अधूरै रह्यो। उनको शव पोस्टमार्टम गरेर अहिले परिवारले बुझ्दै छन्। सोमबार राति एम्बुलेन्समा राखेर शव बनगाउँ ल्याइने डिलानन्दले बताए।

अवस्थीको परिवार दार्चुलाको मालिकार्जुन गाउँपालिका–५, डाँडाकोटमा बस्ने गर्छ। अवस्थी मालिकार्जुन गाउँपालिकामा उद्यम विकास संयोजकको रूपमा कार्यरत थिए। पालिकाले सोमबार उनको निधनमा शोक बिदा दिएको थियो।

उनी नेपाल निजामती कर्मचारी संगठन मालिकार्जुन पालिका अध्यक्ष समेत थिए। लामो समय गैरसरकारी संघसंस्थामा काम गरेका अवस्थी सामुदायिक वन उपभोक्ता महासंघका केन्द्रीय सदस्यसमेत थिए।

अवस्थीका तीन छोरा छन्। भारतमा दुर्घटनामा परेर निधन भएपछि गाउँ नै शोकमा डुबेको छ।

 

ताजा समाचार

सम्बन्धित समाचार