भीम रावलको अभियानमा खुलेपछि एमाले सुदूरपश्चिमका ५ नेतालाई कारबाही

प्रकाशित:

कञ्चनपुर। नेकपा एमाले सुदूरपश्चिम प्रदेशले भीम रावलको अभियानमा लागेका ५ जनालाई कारबाही गरेको छ।

एमाले सुदूरपश्चिम प्रदेश सचिवालय बैठकले रावलले घोषणा गरेको मातृभूमि जागरण अभियानमा संलग्न रहेको आरोपमा ५ जनालाई कारबाही गरेको हो।

एमाले सुदूरपश्चिम प्रदेश सचिव रणबहादुर चन्दले एक प्रेस विज्ञप्ति जारी गर्दै उनीहरुलाई पार्टी विरोधी गतिविधिमा संलग्न रहेको भन्दै पार्टी सदस्यताबाट निष्काशन गर्ने निर्णय भएको जनाएका छन्।

कारबाही पर्नेमा अछामको साँफेबगर नगरपालिका–१० का स्थायी बासिन्दा एमाले सल्लाहकार परिषद् सदस्य एंवम प्रदेश कमिटी सदस्य लालबहादुर खड्का, सोही ठाउँबाट प्रतिनिधित्व गर्ने प्रदेश कमिटी सदस्य जंग बहादुर विक, साँफेबगर–६ का प्रदेश कमिटी सदस्य दुधकला विष्ट, साफेबगर ८ का केशर मियाँ र सोही ठाउँबाट प्रतिनिधित्व गर्ने सल्लाहकार परिषद् सदस्य हर्क कुँवरलाई कारबाही गरिएको हो।

सल्लाहकार परिषद् सदस्य खड्कालाई पार्टी विरोधी गतिविधिमा संलग्न भएको भन्दै सोधिएको स्पष्टीकरणमा चित्तबुझ्दो जवाफ दिएपछि कारबाही रोकिएको थियो। तर फेरि त्यस्तै गतिविधिमा संलग्न रहेको पाइएपछि पार्टी सदस्यबाट निष्काशित गरिएको हो।

रावलको अभियानमा सक्रिय रहेका एमाले प्रदेश कमिटी सदस्यहरु विक, विष्ट मियाँ र कुँवरलाई यसअघि ३ महिनाको लागि निलम्बन गरिएको थियो। तर उनीहरु अहिलेसम्म पनि नसच्चिएकोले पार्टी सदस्यबाट निष्काशित गरिएको विज्ञप्तिमा उल्लेख छ।

ताजा समाचार

सम्बन्धित समाचार