कञ्चनपुर। नेपाली कांग्रेस भीमदत्त नगर कार्यसमिति सभापति अच्युतराज कलौनीको हत्या भएको हुनसक्ने आशंका पीडित परिवारले गरेको छ। बुवा जनकराज कलौनीले छोरालाई हत्या गरेर फालेको हुनसक्ने आशंका गरेका छन्।

गृहमन्त्री रमेश लेखकसँगको भेटमा उनले भने, ‘घटना कतै भएर फालेको हो कि भन्ने शंका छ। नाम तोक्ने त कसको तोक्ने। राती ३ बजे हिँडेर आएको छ, कसैले, गर्ने (घटना) मान्छेले बोलाएको हो कि!’

घटनापछि गृहमन्त्री लेखक शनिबार कञ्चनपुर पुगेका छन्। छोराको शव फेला परेको स्थानमा रहेका घर बाँझो रहेको र घरको बारेमा थाहा हुनेले हत्या गरेर फालेको हुन सक्ने पनि उनले बताए।

छोराले प्रयोग गर्ने एक मोबाइल पनि नभेटिनुले आशंका उत्पन्न भएको उनको भनाइ छ। प्रहरीले उक्त मोबाइलको खोजी थालेको छ।
कांग्रेसका युवा नेता कलौनी शनिबार बिहान भीमदत्त नगरपालिका–१८ स्थित सडकको पेटीमा घोप्टो परेको अवस्थामा मृत फेला परेका थिए। उनको शरीरमा बाहिर देखिने कुनै घाउचोट छैन। शव नजिकै उनको खाली ‘वालेट’ फेला परेको छ।
शव पोस्टमार्टमका लागि महाकाली प्रादेशिक अस्पतालमा छ। भेरी प्रादेशिक अस्पतालबाट फरेन्सिक विज्ञ टोली ल्याइएको छ।
नेपाली कांग्रेस कञ्चनपुरले कलौनी मृत्युबारे निष्पक्ष छानबिनको माग गरेको छ। विज्ञप्ती जारी गरि पार्टीले एक होनहार र प्रतिभावान नेता गुमाएको भन्दै दुःख व्यक्त गरेको छ।
कलौनीको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि आइतबार बिहान १० बजेदेखि ११ बजेसम्म महेन्द्रनगरस्थित पार्टी कार्यालयमा राखिने जनाइएको छ।