कलौनीको शव पोष्टमार्टमका महाकाली प्रादेशिक अस्पतालमा, फरेन्सिक विज्ञ आउँदै

प्रकाशित:

कञ्चनपुर। नेपाली कांग्रेस भीमदत्त नगर कार्यसमिति सभापति अच्युच कलौनीको शव पोष्टमार्टम गर्नका लागि फरेन्सिक विज्ञ टोली मगाइएको छ।

भेरी अस्पतालबाट फरेन्सिक विज्ञ टोली मगाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी उमेश जोशीले बताए।

उनका अनुसार घटनास्थलको काम सकेर अहिले कलौनीको शव पोष्टमार्टमका लागि महाकाली प्रादेशिक अस्पालमा राखिएको छ। ‘फरेन्सिक टोली पुगेपछि पोष्टमार्टम सुरु हुन्छ,’ डीएसपी जोशीले भने।

शनिबार बिहान भीमदत्त नगरपालिका–१८ स्थित सडकको पेटीमा घोप्टो परेको अवस्थामा कलौनीको शव फेला परेको थियो। उनको शरीरमा बाहिर देखिने कुनै घाउचोट छैन।

शव नजिकै उनको खाली ‘वालेट’ फेला परेको छ। परिवारले प्रहरीलाई दिएको जानकारी अनुसार कलौनीले दुई मोबाइल बोक्थे। तीमध्ये ‘एन्ड्रोइड’ मोबाइल फेला परेपनि अर्को सानो मोबाइल नभेटिएको डीएसपी जोशीले बताए।

प्रहरीले उक्त मोबाइल खोजिरहेको छ। कलौनी शुक्रबार राति ९ः३२ मा घटनास्थल नजिकैको सीसीटीभी फुटेजमा एक्लै हिँडिरहेका कैद भएका छन्।

प्रहरीले बिहान घटनास्थलमा तालिम प्राप्त कुकुर पनि परिचालन गरेको थियो। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका डीआईजी गणेश चन्द पनि घटनास्थलमा पुगेका थिए।

नेपाल विद्यार्थी संघबाट राजनीति थालेका कलौनी कांग्रेसको मूल राजनीतिमा आएका थिए।

हाल उनी महेन्द्रनगरको बैजनाथ माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष पनि थिए। कलौनीको घटनाबारे बुझ्न गृहमन्त्री रमेश लेखक पनि कञ्चनपुर आउँदैछन्।

ताजा समाचार

सम्बन्धित समाचार