कञ्चनपुरमा २७ हजार किशोरीलाई एचपीभी खोप दिइने

प्रकाशित:

कञ्चनपुर। कञ्चनपुरमा आगामी माघ २२ गतेदेखि पाठेघरको मुखको क्यान्सरविरुद्धको हृयुमन प्यापुलोना भाइरस (एचपीभी) खोप अभियान सुरु गरिने भएको छ।

स्वास्थ्य कार्यालय, कञ्चनपुरका सूचना अधिकारी खगेन्द्र कार्कीका अनुसार खोप अभियानको तयारी तीव्र पारिएको छ।

२७ हजार सात सय ६५ किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप लगाइने उनले बताए। १० देखि १४ वर्ष उमेर समुहका किशोरीलाई खोप लगाइने उनको भनाइ छ।

‘पाठेघरको मुखको क्यान्सर रोकथाम गर्न किशोरीलाई खोप लगाउन लागिएको हो। यो प्राथमिक तहको रोकथाम हो,’ उनले भने, ‘यसपछि दोस्रो चरणमा हामी हरेक महिलाको पाठेघरको स्क्रिनिङ गर्ने तयारीमा छौँ।’

उनका अनुसार फागुनमा ३० देखि ३९ वर्ष उमेर समुहका महिलालाई स्क्रिनिङ गर्ने तयारी भइरहेको छ। खोप अभियानका लागि जिल्लाका नौँ वटै स्थानीय तहमा चार सय २६ खोप केन्द्र राखिएका छन्।

विद्यालय र स्वास्थ्य केन्द्रमा खोप केन्द्र राखिएको स्वास्थ्य कार्यालयले जनाएको छ। चार सय २६ खोप केन्द्रमध्ये तीन सय ४४ विद्यालय र ८२ स्वास्थ्य केन्द्रलाई खोप केन्द्र बनाइएको छ।

प्रत्येक खोप केन्द्रमा एक स्वास्थ्यकर्मी र दुई स्वयमसेवक परिचालन गरिने छन्। स्वास्थ्य कार्यालयका अनुसार खोप अभियानमा चार सय २६ स्वास्थ्यकर्मी र आठ सय ५२ स्वयमसेवक खटिएका छन्।

माघ २२ गतेदेखि सुरु हुने अभियान फागुन ६ गतेसम्म चल्ने कार्यतालिका रहेपनि स्थानीय स्वास्थ्य स्वयसेवकसँग सम्पर्क गरेर खोप लगाउन स्वास्थ्य कार्यालयले आग्रह गरेको छ।

विद्यालयमा कक्षा छ देखि कक्षा १० सम्म अध्ययरत सो उमेर समुहका किशोरी र विद्यालय नजाने किशोरीलाई पनि खोप लगाइने सूचना अधिकारी कार्कीले बताए।

ताजा समाचार

सम्बन्धित समाचार