कञ्चनपुर। भीमदत्त नगरपालिका स्तरीय उत्थानशील युवा सञ्जालको नयाँ कार्य समिति गठन भएको छ। भीमदत्त नगरपालिकाको सभा हलमा आज सम्पन्न भएको उत्थानशील युवा सञ्जाल गठन तथा परिचालन कार्यक्रमले उत्तम सुनारको संयोजकत्वमा नयाँ कार्य समिति सर्वसम्मत रूपमा चयन गरेको हो।

उत्थानशील युवा सञ्जाल गठन तथा सञ्चालन कार्यविधिअनुसार नयाँ कार्य समिति चयन गरिएको छ। जसमा पुरुष सहसंयोजकमा नरेश बिसी र महिला सहसंयोजकमा मनिषा महता चयन भएका छन्।

त्यस्तै प्रत्येक वडाबाट प्रतिनिधित्व हुने गरि एक/एक जना सदस्य चयन भएका छन्।

जसमा सुशिला खत्री धामी, मञ्जु कुमारी जोशी भट्ट, सौरभ सिँह, दिनेश बिस्ट, सहदेव साउँद, सुमन ओड, रेखा धामी, राधिका कुँवर, ईश्वरी सार्की, रिना थापा, हेमन्ती महर, विरेन्द्र ओड, सीमा सार्की, पंकज भट्ट, विवेक साँउद, समिक्षा जैरू र अमर सिँह चौधरी चयन भएका छन्। त्यस्तै एक जना संस्थाबाट प्रतिनिधि सदस्य रहने कार्यविधिअनुसार सदस्यमा नेपाल राष्ट्रिय समाज कल्याण संघ एनएनएसडब्ल्यूएका अनिता लावड चयन भएकी छन्।
उत्थानशील युवा सञ्जालका संरक्षक तथा भीमदत्त नगरपालिकाका मेयर पदम बोगटीले एनएनएसडब्ल्यूए र नगरपालिकाको सहकार्यमा युवा सञ्जालले स्थानीय सरकारलाई सहयोग पुग्ने गरि आपतविपद् साथै विकृति र विसंगतीको लागि रचनात्मक क्रियाकलापहरू गर्दै आएको बताए।
उनले नवनिर्वाचित कार्य समितिलाई बधाई दिँदै युवा सञ्जालले नयाँ किसिमले अझ बढी रचनात्मक काम गर्ने विश्वास व्यक्त गरे। भीमदत्त नगरपालिकाका उपमेयर नीलम लेखक जोशीले गत असारको आरी घोप्टे वर्षामा युवा सञ्जालको सक्रियताले मानवीय क्षतिबाट जोगिएको बताइन।
उनले जलवायु परिवर्तन अनुकुलन, हरियाली प्रवर्धन र विपद् व्यवस्थापनका लागि सञ्जाल गठन गरिएको बताइन। उपमेयर जोशीले विपद् व्यवस्थापनको क्षेत्रमा युवाहरूको क्षमता वृद्धिका लागि नगरपालिकाले विभिन्न तालिमहरूको व्यवस्थापन गर्ने बताइन्।
नेपाल राष्ट्रिय समाज कल्याण संघ एनएनएसडब्ल्यूएका कार्यकारी निर्देशक अशोक बिक्रम जैरूले युवाहरूलाई सामाजिक कार्यप्रति उत्तरदायी तथा जिम्मेवर बनाउन साथै विपद्को समयमा स्वस्फूर्त रूपमा सहयोग पुऱ्याउने उद्देश्यले नेपाल राष्ट्रिय समाज कल्याण संघ एनएनएसडब्ल्यूए र डीसीए नेपालको सहकार्यमा भीमदत्त नगरपालिका, दोधारा चाँदनी नगरपालिका र पर्शुराम नगरपालिकामा उत्थानशील युवा सञ्जाल गठन गरिएको बताए।
उनले अहिले नगरपालिकाको सहकार्यमा सञ्जालको नयाँ कार्य समिति चयन गरिएको जानकारी दिए।