दोधारा चाँदनी एकीकृत जाँच चौकी निर्माण गर्न टेन्डर आह्वान

प्रकाशित:

काठमाडौं। दोधारा चाँदनी एकीकृत जाँच चौकी तथा सुक्खा बन्दरगाह निर्माण गर्न भारत सरकारले टेन्डर आह्वान गरेको छ । नेपाल इन्टरमोडल यातायात विकास समितिका अनुसार ४ जनवरीमा भारत सरकारले यो संरचना निर्माणका लागि टेन्डर आह्वान गरेको हो ।

बन्दरगाह भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा बन्दैछ। समितिका कार्यकारी निर्देशक आशिष गजुरेलका अनुसार यस बन्दरगाहमा नेपाल सरकारले भने जमिन उपलब्ध गराउनुका साथै पूर्वतयारीको काम गर्ने छ ।

त्यसका लागि समेत आवश्यक तयारीका काम भइरहेको उनले जानकारी दिए। ‘उता, टेन्डरको काम र यहाँ पूर्वतयारीको काम सँगसँगै गर्दैछौं,’ उनले भने, ‘यसले आयोजना एकै पटक अगाडि बढाउन सहयोग पुग्ने छ ।’

दोधारा चाँदनी एकीकृत जाँच चौकी तथा सुक्खा बन्दरगाह निर्माणमा संरक्षित क्षेत्रको जग्गा प्रयोग र उक्त स्थानका रुखबिरुवा हटाउने सम्बन्धमा यसअघि नै सम्झौता भइसकेको छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र नेपाल इन्टरमोडल यातायात विकास समितिबीच यसबारे सम्झौता भएको हो । कञ्चनपुर जिल्लोका दोधारा चाँदनी नगरपालिका–१ मा एकीकृत जाँच चौकी तथा सुक्खा बन्दरगाह निर्माण तयारी छ ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा रहेको राष्ट्रिय वन क्षेत्रको ४२।३६ हेक्टर जग्गा उक्त संरचनामा प्रयोग हुँदैछ । यसका लागि नेपाल सरकार मन्त्रिपरिषद् बैठकले २ असोज २०८१ मा स्वीकृति दिएको थियो । उक्त निर्णय कार्यान्वयन गर्नेबारे विभाग र समितिबीच सम्झौता भएको समितिले जनाएको छ ।

आयोजनाले काट्ने रुखका लागि उक्त क्षेत्र बराबर जमिन उपलब्ध गराउन नसकेका कारण सट्टा भर्नाबापत विभागलाई १४ करोड ८२ लाख रुपैयाँ दिएको हो । यो बन्दरगाह भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण हुँदैछ । आयोजनाको कुल लागत ५ अर्ब ७६ करोड रुपैयाँ बराबर छ ।

यहाँ अत्याधुनिक सुविधा सम्पन्न व्यापार पूर्वाधार सहित जाँच चौकी निर्माण हुँदैछ । आयोजना अन्तर्गत सडक, पार्किङ क्षेत्र, प्लेटफर्म, गोदामघर, तौलपुल, कन्टेनर यार्ड, यात्रु टर्मिनल, भन्सार, बैंक, पशुपन्छी खाद्य प्रयोगशाखा  (क्वारेन्टिन), प्रशासनिक भवन लगायत संरचना बन्ने भएका छन् ।

सरकारले पछिल्लो समय भारत र चीनसँग नाका जोडिएका सीमा नाकामा सुविधा सम्पन्न सुक्खा बन्दरगाह निर्माणलाई गति दिएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार