विपिन जोशी सुरक्षित रहेको जनाउने तीन आधार

प्रकाशित:

काठमाडौँ। इजरायलबाट नेपालका विपिन जोशी हमासको बन्धक बनेको १५ महिना बित्यो । इजरायल र हमासबीच युद्धविराम भई बन्धक रिहाइ पनि हुन थालिसकेको छ ।

आइतबार तीन इजरायली महिला रिहा भए । पहिलो चरणमा रिहा हुने ३३ बन्धकको सूची सार्वजनिक हुँदा विपिनको नाम परेन । यो सूची जुलाईमै इजरायलले तयार गरेको र यसमा महिला, बच्चा र ज्येष्ठ नागरिकलाई प्राथमिकता दिइएको बताइएको छ ।

युद्धविराम र बन्दी रिहाइको प्रक्रिया अघि बढेसँगै विपिन जोशीको अवस्थाबारे चासो बढेको छ– के विपिन सुरक्षित छन् त रु पछिल्लो समय उनी सुरक्षित रहेको खबर कहाँबाट, के आधारमा कसले ल्यायो त रु यसमा कति सत्यता छ रु आम रूपमा यस्ता प्रश्नहरू छन् ।

७ अक्टुबरमा अपहरण भएपछि विपिनको फोनको अन्तिम लोकेसन गाजामा देखिएको थियो । इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितका अनुसार, त्यसयता विपिनको अवस्था वा उनी कहाँ छन् भन्नेबारे अहिलेसम्म कुनै ठोस जानकारी छैन ।

विपिन जोशी जीवित रहेका तीन प्रमाण

उनको रिहाइबारे पनि प्रस्ट र ढुक्क हुने कुरा कतैबाट आएको छैन । तर, इजरायली डिफेन्स फोर्सले गत नोभेम्बरमा जारी गरेको भिडियो र हालै नेपालका लागि इजरायली राजदूतले ल्याएको खबर, विपिनबारे आशा बढाउने खालका छन् ।

अनि बन्दी अवस्थामै मारिएका कुनै पनि बन्धकसँग विपिनको परिवारको डीएनए म्याच नहुनु आशा बढाउने अर्को पक्ष हो ।२२ नोभम्बर २०२३ मा इजरायल डिफेन्स फोर्सले गाजाको अल सिफा अस्पतालमा एक युवकलाई हमासका लडाकुले लैजाँदै गरेको भिडियो फुटेज सार्वजनिक गरेको थियो ।

आकाशे रङको टिसर्ट, हाफपाइन्ट र चप्पलमा देखिएका ती युवक विपिन नै भएको पुष्टि परिवारले गरेको थियो । इजरायलमाथि आक्रमण भएकै दिन अर्थात् ७ अक्टुबर २०२३ मा हमास लडाकुले उनलाई एक ठाउँबाट अर्को ठाउँ सार्दै गरेको भिडियोमा देखिन्थ्यो ।

राजदूतले ल्याएको खबर

अर्को आशा भनेको, इजरायली राजदूत शमुलिक ए वासले ल्याएको खबर हो । २० मंसिरमा काठमाडौंमा पत्रकारहरूसँग उनले विपिन जीवित रहेको र छिट्टै नेपाल फर्किने बताएका थिए । उनका अनुसार, विपिन गाजा क्षेत्रमा सुरक्षित छन् ।

यो सूचना अरबी देशहरूबाटै पाएको उनले बताएका थिए । हमाससँग कतार, इजिप्टलगायत देश निकट मानिन्छन् । यी देशकै मध्यस्थतामा दुई पक्षबीच युद्धविराम भएको छ ।

त्यसैले इजरायलले सूचना यी देशबाटै पाएको भए विपिन सुरक्षित छन् भनेर विश्वस्त हुन सकिन्छ । राजदूत वासले विपिनलाई राखिएको ठाउँ भने पहिचान हुन नसकेको बताएका छन् ।

विपिनबारे राजदूत वाससँग हालै मात्र परराष्ट्रमन्त्री आरजु राणा देउवाले पनि जानकारी लिएकी थिइन् । मन्त्री देउवालाई उनले त्यही खबर सुनाएका छन्, जुन उनले अरबी देशबाट पाएका थिए ।

२९ पुसमा देउवाले संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा पुगेर विपिन सुरक्षित रहेको र रिहाइको पहल भइरहेको बताएकी थिइन् । इजरायलका विदेशमन्त्री गेदिन सारलाई पनि फोन गरी आफूले विपिनको रिहाइबारे कुरा गरेको एक्समार्फत देउवाले जानकारी गराएकी छन् ।

परिवारमा आशा

परिवारमा पनि विपिन सकुशल छन् भन्ने बलियो आशा छ । युद्धविराम भएसँगै आशा जति बढेको छ, कुनै पक्षको कमजोरीले फेरि सबै प्रक्रिया भताभुङ्ग हुने डर पनि परिवारमा देखिन्छ । त्यसैले पहिलो चरणमा छोराको रिहाइका लागि पहल गरिदिन आग्रह गर्दै विपिनका बुबा महानन्द र पद्मा भोलि ८ माघमा काठमाडौं आउँदै छन् ।

फोन सम्पर्कमा महानन्दले पहिला पनि युद्धविराम हुँदा आशा बढेको तर त्यो पालना नभएर फेरि युद्ध छेडिएसँगै निराश बन्नुपरेको सम्झिए । अहिले पनि पहिलो चरणमै पहल गर्न सबै पक्षलाई अनुरोध गर्न भोलि आफू काठमाडौं आउन लागेको उनले बताए । उनलाई शङ्का छ, के थाहा फेरि युद्धविराम भङ्ग भइहाल्ने पो हो कि १

हिजो इजरायली बन्धकलाई हमासले छोड्दै गरेको भिडियो आफूले फोनमा हेरेको महानन्दले बताए । तीन महिला बन्धकलाई गाजामा सशस्त्र हमास लडाकुले घेरिएको रेड क्रसको गाडीमा चढ्दै गरेको भिडियो हमासले नै प्रसारण गरेको थियो ।

इजरायली मिडिया द टाइम्स अफ इजरायलका अनुसार, यो सबै तेल अभिबको विदेश मन्त्रालयअगाडि ठूलो स्क्रिनमा हेरेर इजरायलीहरूले खुसी साटासाट गर्दै एकअर्कालाई अँगालो हालेका थिए । रिहाइ गर्दा हमासका लडाकुले महिलाहरूलाई उपहार ब्याग र प्रमाणपत्र दिएको देखिन्थ्यो । हमासको कैदमा रहँदा उनीहरूको तस्वीर त्यो ब्यागमा थियो ।

यसरी नै हमासले छोरालाई छोडेपछि उनलाई नेपालमा स्वागत गर्न आफू आतुर रहेको महानन्दले सुनाए । उनका अनुसार, युद्धविरामको खबर सुनेदेखि नै आमा पद्मा छोराको फोन कुरेर बसिरहेकी छन् ।

‘आमा म छुटेंँ, अब छिट्टै गाउँ आउँछुु भनेर छोराले भन्ने शब्द सुन्न उनी तड्पिएकी छन् । विपिनकी १८ वर्षीया बहिनी पुष्पा आफ्ना दाजु सकुशल फर्केर आउनेमा विश्वस्त देखिन्छिन् । उनी भन्छिन्, ‘जुन दिन दादा आउनुहुन्छ, म उहाँलाई अँगालो हालेर रुनेछु ।’

विपिनको प्रतीक्षा अब परिवारलाई मात्र होइन, सिङ्गो देशलाई छ । इजरायली अधिकारीहरूको कुरा सुन्दा विपिन जोशी सकुशल रहेको आस गर्न सकिन्छ । तर, उनी रिहा हुन अझै केही समय लाग्नेछ ।

कतार, इजिप्ट, अमेरिकालगायत देशको मध्यस्थतामा हिजो १९ जनवरीदेखि लागू भएको युद्धविराम सम्झौताअन्तर्गत तीन जना इजरायली महिलालाई हमासले उपहार र प्रमाणपत्र दिएर हाँसीखुसी रिहाइ गरिसकेको छ । पहिलो चरणमा ४२ दिनभित्र ३३ जनालाई हमासले छोड्ने सम्झौता छ । यसको बदलामा इजरायलले प्यालेस्टाइनी कैदीहरूलाई छोड्नुपर्नेछ ।

युद्धविरामको दोस्रो र तेस्रो चरणको कार्यान्वयनबारे दुई पक्षबीच छलफल हुन बाँकी नै छ । सहमतिअनुसार, पहिलो चरणको १६औँ दिनदेखि बाँकी दुई चरणबारे छलफल हुनेछ । पहिलो चरणमा महिला, ज्येष्ठ पुरुष र बालबालिकालाई प्राथमिकता दिइने बताइएको छ ।

इजरायली अखबार जेरुसेलम पोस्टका अनुसार, आफ्नो कब्जामा रहेका ९४ मध्ये अब ५९ जना जीवित रहेको हमासले जनाएको छ । यसमा विपिनसहित ९ जना विदेशी हुन् ।

हमासले आइतबार गाजामा लागू भएको युद्धविराम सम्झौतालाई पालना गर्ने बताएको छ । तर, इजरायलले यो सम्झौता उल्लंघन गरेमा युद्धविराम प्रक्रियासँगै बाँकी बन्धकको जीवन खतरामा पर्ने चेतावनी पनि हमासले दिएको छ ।

एक भिडियो भाषणमा अल कसम ब्रिगेडका प्रवक्ता अबू उबैदाले मध्यस्थता गरिरहेका देशसँग इजरायललाई युद्धविराम सम्झौताका लागि बाध्य पार्न भनेका छन् ।

१० साथी गुमाएर यसरी बन्धक बनेका थिए विपिन

७ अक्टुबर २०२३ को दिन बिहानी घाम उदाउँदासम्म दक्षिणी इजरायल शान्त थियो । अरु बेलाजस्तै बिहान सबेरै हमासशासित गाजा क्षेत्रबाट केही मानिस सीमातिर आउँदै थिए । साथमा केही बुल्डोजर पनि देखिए ।

गाजा र किबुज सीमावर्ती क्षेत्र हुन् । किबुज र गाजाका किसानको दैनिकी छेउछाउकै फार्ममा काम गरेर बित्ने गर्थ्यो । गाजातिरको समूह र डोजरलाई बोर्डरमा रहेको इजरायली सुरक्षा बलले अरु बेलाजस्तै सामान्य ठान्यो ।

त्यो बेलासम्म इजरायलले हमासलाई खासै ठूलो चुनौती मानेको थिएन । कुनै घातक र अप्रत्याशित आक्रमणबारे इजरायली गुप्तचर संस्था मोसादलाई समेत कुनै सुइँको थिएन ।

एकैछिनमा त्यहाँ मोटरसाइकलमा समेत गरी ठूलो समूह जम्मा भयो, अनि सीमामा रहेका इजरायली सुरक्षाकर्मीलाई गोली हान्न थाल्यो । यो सबै यति छिटो भयो कि, इजरायल पक्षले केही सोच्नसमेत भ्याएन । त्यसैले इजरायली मिडियाले त्यो आक्रमणलाई अभूतपूर्व, अकल्पनीय र आश्चर्यजनक भन्ने गरेका छन् ।

किबुज क्षेत्रमा रहेको सेदोत नेगेभमा १७ नेपाली विद्यार्थी बसेका थिए । उनीहरू नेपालबाट इजरायल पुगेको तीन साता मात्रै भएको थियो ।

सीमा नाघेर हमास आक्रमणकारी बन्दुक र बमसहित किबुज क्षेत्रमा पसे । नेपाली विद्यार्थीले पनि बन्दुकको आवाज सुने । उनीहरू पनि ठूलो आक्रमणको मुखैमा रहेको कुराबाट बेखबर नै थिए । इजरायलमा हरेकजसो घरमा सुरक्षा बङ्कर बनाइएको हुन्छ । कतैबाट आक्रमण भयो भने साइरन बज्छ, अनि इजरायलीहरू त्यो बङ्करभित्र छिरेर सुरक्षित बस्छन् ।

नेपाली विद्यार्थीलाई पनि इजरायल जानुअघि नै हुने ओरेन्टेसनमा आक्रमण भइहालेमा बङ्करभित्र बस्नुपर्ने कुरा भन्ने गरिएको नेपालस्थित इजरायली दूतावासले जनाएको छ ।

गाजाबाट आक्रमण भएलगत्तै इजरायलको अलर्ट साइरन बज्यो । बन्दुकको आवाज छेउछाउमै पड्किन थालेपछि विद्यार्थीहरू पनि बङ्करभित्र छिरे । इजरायलमा मूलतः दुई किसिमका बङ्कर बनाइएको हुन्छ । एउटा जमिनमुनि हुन्छ भने अर्को घरकै एउटा कोठालाई बङ्करका रूपमा तयार गरिएको हुन्छ ।

नेपाली विद्यार्थी छिरेको बङ्कर जमिनमुनिको नभएर घरको कोठामा थियो । घरको बङ्कर पनि सुरक्षित नै हुन्छ, किनकि कोठाको सम्पूर्ण संरचना फलामले बनाइएको हुन्छ ।

बङ्करभित्र पस्दासम्म सबै विद्यार्थी सुरक्षित नै थिए । त्यसैले उनीहरूले बङ्करभित्र भिडियो खिचे, सेल्फी लिए र सोसल मिडियामा ‘बङ्कर टाइम’ शीर्षक दिएर पोस्ट पनि गरे । बाहिर हमासका लडाकु ग्रिनेड र बन्दुक लिएर घुमिरहेका थिए ।

हमास कति खतरनाक हुन्छ भन्ने कुरा नेपाली विद्यार्थीलाई थाहा थिएन । अनि बङ्करभित्र बसेको पूर्वअनुभव पनि उनीहरूलाई थिएन । इजरायली आकाशमा रकेट आक्रमण भइराखेकै हुन्छ ।

त्यसले खासै क्षति गर्ने गरेको छैन । विद्यार्थीलाई यस्तै सामान्य आक्रमण होला भन्ने लागेको थियो । अर्को कुरा, हमासले इजरायलीबाहेक अरुलाई आक्रमण गर्दैन भन्ने आत्मविश्वास पनि इजरायल बस्ने विदेशीहरूमा हुने गरेको छ ।

यस्तोमा बझाङका गणेशकुमार नेपाली भिडियो खिच्न थोरै बाहिर निस्किए । उनी आफ्नो नजरमा परेलगत्तै लडाकुले गोली हान्यो, गणेश त्यहीँ ढले ।

गणेश ढलेपछि दार्चुलाका दीपेशराज विस्ट ‘हामी नेपाली विद्यार्थी हौँ’ भन्दै हात माथि गरेर निस्किए । हमास लडाकुले उनलाई समेत गोली हानेर लडायो । बङ्करभित्र हल्ला सुनेर लडाकुले बाहिरबाट दुईवटा ग्रिनेड फाल्दियो । त्यसमध्ये एउटा ग्रिनेड कञ्चनपुर भीमदत्त नगरपालिका– २, भासीका विपिन जोशीले टिपेर बाटोतिर मिल्काइदिए ।

हमास लडाकुले फालेको अर्को ग्रिनेड भने पड्कियो, जसमा पाँच जना घाइते भए । आक्रमणबाट जोगिएर फर्केका विद्यार्थीका अनुसार, दुवै ग्रिनेड पड्केको भए त्यहाँ रहेका सबैको मृत्यु हुन सक्थ्यो ।

दोस्रो ग्रिनेड पड्केपछि थाइल्यान्डका श्रमिकहरू र केही नेपाली विद्यार्थी लुक्ने ठाउँ खोज्दै भागे । तर, विपिनसहित केही साथी घाइते साथीहरूलाई बचाउनतिर लागे । इजरायली समाचार संस्था टाइम्स अफ इजरायलले घाइते विद्यार्थी अनि जोगिएर भाग्न सफल थाइल्यान्डका श्रमिकसँग कुराकानी गरी त्यो दिनको घटनाबारे रिपोर्ट प्रकाशित गरेको थियो । वाल स्ट्रिट जर्नलमा पनि भिडियोसहितको सामग्री प्रकाशित छ ।

विपिनले आपत्‌कै समयमा आफ्ना ठूलोबुबाका छोरालाई टेक्स्ट म्यासेज पठाए, जसमा उनले लेखेका थिए, ‘मलाई केही भयो भने तपाईंले मेरो परिवारको ख्याल राख्नु है । कमजोर नहुनू, सधैँ भविष्यतिर ध्यान दिनू ।’

यस अवधिमा एक लडाकुले विपिन र तीन थाई श्रमिकलाई ढोकाबाट बाहिर निस्कन भन्यो । निस्केपछि घोक्र्याउँदै हमासले विपिनलाई लिएर गयो । यो नै विपिनलाई कसैले जीवित देखेको अन्तिम समय थियो ।

उता, भागेका अरु विद्यार्थीलाई इजरायली आर्मीले अर्को बङ्करमा लगेर राख्यो । तर, त्यहाँ पनि पुगेर हमासका लडाकुले बन्दुक र ग्रिनेड बर्साए । यसरी इजरायल–हमास युद्धसँग कुनै साइनो नै नभएका १० नेपाली विद्यार्थी मारिए ।

आक्रमणमा दार्चुलाका दीपेशराज, बझाङका गणेशकुमारसहित कैलालीका नारायणप्रसाद न्यौपाने र आशिष चौधरी, दार्चुलाका लोकेन्द्रसिंह धामी, धनुषाका आनन्द साह, सुनसरीका राजेशकुमार स्वर्णकार, डोटीका राजन फुलारा र पदम थापा अनि सल्यानका प्रवेश भण्डारीका लागि ७ अक्टुबर अन्तिम दिन बन्यो ।

सल्यानका विधान सेजवाल, दाङका प्रविण डाँगी, कैलाली धनबहादुर चौधरी र गोरखाका हिमाञ्चल कट्टेल घाइते हुन्छन् भने कञ्चनपुरका विपिन हमास लडाकुको बन्धक बने । शिलापत्र

ताजा समाचार

सम्बन्धित समाचार