निर्मला पन्त प्रकरणमा अनुसन्धान जारी, बिपिनको रिहाईका लागि पहल हुँदैछ: गृहमन्त्री लेखक

प्रकाशित:

कञ्चनपुर । आइतबार प्रेस यूनियन कञ्चनपुरले आयोजना गरेको पत्रकार सम्मेलनमा गृहमन्त्री लेखकले ६ वर्षअघि बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको प्रकरणमा पनि अनुसन्धान अघि बढिरहेको जानकारी दिएका छन्। “निर्मला पन्त प्रकरणमा सरकारले गम्भीरता देखाएको छ र अनुसन्धान भइरहेको छ,” उनले भने।

उनले विपिन जोशीको रिहाइका लागि सरकारले पहल गरिरहेको र आफू पनि यसमा सक्रिय रहेको जानकारी दिए।

गृहमन्त्री लेखकले ०८४ सालसम्म काँग्रेस र एमालेको गठबन्धन सरकार कायम रहने बताएका छन्। उनले ७ बुँदे सहमति अनुसार सरकार चलिरहेको र कुनै अवरोध नभएको स्पष्ट पारे।

काँग्रेस नेता समेत रहेका गृहमन्त्री लेखकले भने, “सरकार अघि बढिरहेको छ र दुवै दलले ७ बुँदे सहमति पालना गरेका छन्। पहिलो १८ महिना एमाले अध्यक्ष केपी शर्मा ओली र दोस्रो कार्यकाल काँग्रेस सभापति शेर बहादुर देउवा नेतृत्वमा सरकार अघि बढ्दैछ।”

गृहमन्त्रीले अध्यादेश जारी भएपछि केही प्रक्रिया सम्बन्धी प्रश्न उठे पनि सरकार संसद अधिवेशन चाँडै बोलाउने दावी गरे।

गृहमन्त्री लेखकले नक्कली भुटानी शरणार्थी र गिरीबन्धु टि स्टेट जस्ता काण्डका विषयमा अनुसन्धान प्रमाणका आधारमा अघि बढिरहेको स्पष्ट पारे। “सहकारी काण्डमा सत्ताधारीका नेता कार्यकर्तालाई बचाउन र विपक्षमा कारवाही गर्न खोजिएको भन्ने आरोप सही होइन,” उनले भने।

महाकाली चारलेन पुलको निर्माणमा आएर गड्डाचौकी पहुँचमार्गमा आएको अवरोधको विषयमा सम्बन्धित निकायलाई ध्यानाकर्षण गराइएको गृहमन्त्रीले जानकारी दिए।

 

ताजा समाचार

सम्बन्धित समाचार