महेन्द्रनगर । कञ्चनपुरमा भरुवा बन्दुक सहित एक जना पक्राउ परेका छन् । कञ्चनपुरको शुक्लाफाँटा–८, उत्तरी चुरे वन क्षेत्रबाट एक जना भरुवा बन्दुकसहित पक्राउ परेका छन्।

सोमबार शुक्लाफाँटा नगरपालिका–८ स्थित सुनदेवी महिला सामुदायिक वन उपभोक्ता समूहको क्षेत्रअन्तर्गत पर्ने चुरे वनबाट भरुवा बन्दुकसहित शुक्लाफाँटा नगरपालिका–६ का खडकबहादुर खड्का पक्राउ परेका हुन्।

खड्का नेपाल प्रहरीका पूर्वअसइ भएको खुलेको छ। शुक्लाफाँटा सव–डिभिजन वन कार्यालयबाट खटिएका वन रक्षक खेम साउँद र वन स्काउट ईन्द्र बम नेतृत्वको टोलीले खड्कालाई नियन्त्रणमा लिएको हो।

चुरे राष्ट्रिय वनमा जडान गरेको क्यामेराहरूको निरीक्षणमा गएको वेला उनलाई पक्राउ गरिएको हो। चुरे क्षेत्रको गिठे भन्ने ठाउँबाट खड्कालाई बन्दुक लुकाइरहेको अवस्थामा देखेपछि पक्राउ गरिएको थियो।
खड्का सिकार गर्नकै लागि चुरे वनमा गएको वनको टोलीले दाबी गरेको छ। भरुवा बन्दुकसहित पक्राउ परेका खड्कालाई इलाका प्रहरी कार्यालय झलारीको नियन्त्रणमा राखेर अनुसन्धान भइरहेको छ।