मदन चोकका व्यवसायी भन्छन् : पुर्नस्थापना नहुँदा मारमा प-यौँ

प्रकाशित:

कञ्चनपुर। कञ्चनपुरको महेन्द्रनगरस्थित मदनचोकका २२ सटर व्यवसायीले पुर्नस्थापनाको माग गरेका छन्। बुधबार पत्रकार सम्मेलन गर्दै व्यवसायीहरुले साविककै स्थानमा पुर्नस्थापनाको माग गरेका हुन।

संरचना भत्काएको एक वर्ष पुग्दै लाग्दा पनि आफूहरुको पुर्नस्थापना हुन नसक्दा व्यवसाय धरासय भएर पलायन हुनु पर्ने बाध्यता निम्तिन लागेको व्यवसायी नारायणदत्त पन्तले बताए।

‘बैंक तथा वित्तिय संस्थाबाट ऋण निकालेर व्यापार गरिररहेका छौँ। एडीबीको कामलाई बाधा नपुगाउने गरेर हामी त्यो ठाउँबाट हट्यौँ,’ उनले भने, ‘अहिलेसम्म पुर्नस्थापना नहुँदा हामी मारमा परेका छौँ। व्यापार गर्न नपाउँदा उठीबास हुनु पर्ने अवस्था आएको छ।’

सडक विस्तारको क्रममा गत वर्षतिर मदनचोकको २२ सटक हटाइएको थियो। त्यसपछि उनीहरुको भीमदत्त नगरपालिकाले भृकुटी माध्यमिक विद्यालय नजिक व्यापारका लागि व्यवस्था गरेको थियो।

तर उनीहरुले अस्थायी रुपमा व्यवस्थापन गरिएकोले अवरोध नहुने गरी मदन चोकमै सटर निर्माण गरेर व्यापार गर्न पाउनु पर्ने माग अघि सारेका छन्।

‘हामी अतिक्रमणकारी होइनौँ, यसै क्षेत्रका व्यापारी हौँ। हामीलाई हटाउँदा सडक विस्तारपछि बाँकी रहेको स्थानमा सटर निर्माण गरेर व्यवस्था गर्ने भनिएको थियो,’ व्यापारी पन्तले भने, ‘स्थानीय सरकारले व्यापारीको मार्का बुझेर व्यवसाय गर्ने वातावरण बनाउनुपर्छ।’

पत्रकार सम्मेलनमा २२ सटर व्यवसायीले नगर विकास समितिको बोर्ड बैठकले ०८० भाद्र ६ गते गरेको निर्णय सार्वजनिक गर्दै सो निर्णय कार्यान्यन गर्नु पर्नेमा जोड दिए।

उक्त निर्णयमा नगर विकास समितिका २२ सटरमा अहिलेसम्मको पुरानो भाडा सम्झौता अनुसार असुल उपर गर्ने र सटरहरु खाली गराएर व्यवसायलाई समेत असर नपर्ने गरी नगरपालिकाले निर्माण गरेका सटरहरुमा अस्थायी रुपमा व्यवस्थापन गरेर भत्काउने भनिएको छ।

यस्तै मदनचोकमा सडक लगायतको निर्माण कार्य भएपछि पसलहरुलाई सोही ठाउँमा उपलब्ध बाँकी जग्गामा पुर्नस्थापित गर्ने निर्णय भएको उल्लेख छ।

मनदचोकमा सडक विस्तार र ढल बनिसकेपछि बचेको जमिनमा सटर निर्माण गरेर पुर्नस्थापित गर्नु पर्ने उनीहरुको माग छ।

‘एक वर्ष बित्न लाग्यो। हाम्रो सुनुवाइ भएन। बचेको १० फिट जमिनमा सटर बनाए व्यापार गर्न पाउनुपर्छ,’ व्यापारी मान बहादुर कार्कीले भने, ‘हामी पनि नगरलाई सफा सुन्दर बनाउन चाहन्छौँ। त्यसैले भनेकै बेला यहाँबाट हट्यौँँ। बाँकी रहेको जमिनमा अहिले किन पुर्नस्थापना गरिँदै छैन ?’

पुर्नस्थापना नगरिए आफूहरु आन्दोलनमा जाने उनीहरुले चेतावनी दिए। मदनचोकमा आफूहरुको व्यापारको ब्राण्ड रहेकोले अन्यत्र सर्न नसक्ने व्यापारी निरज भट्ट बताउँछन्।

‘यहाँ हाम्रो ब्राण्ड छ। व्यापारमा ब्राण्डले महत्व राख्छ। कति धेरै क्रेडिट गएको छ,’ उनले भने, ‘अन्यत्र गए भने त्यो आउँदैन। ब्राण्ड कायम राख्न पनि हामीलाई यथावत् स्थानमा पुर्नस्थापना गर्नु पर्छ।’

यो पनि : भीनपासंग युवा विद्यार्थीले मागे २२ सटरका निर्णय

ताजा समाचार

सम्बन्धित समाचार