कञ्चनपुर। अनुहार अबिरले रंगिएको छ। शरीर माला र दोसल्लाले ढाकिएको छ। स–साना बालबालिकादेखि तन्नेरी विद्यार्थी, अभिभावक तथा शिक्षक फूलमाला लिएर लामबद्ध छन्।
नजिकै पुगेर श्रद्धाभावले हात छोड्छन्, अबिर लगाउँछन् र माला पहिराउँछन्। मायाको चिनो दिन्छन्, पाउ छोएर दण्डवत गर्दै तस्बिर खिचाउँछन्।
कञ्चनपुरको बेदकोट नगरपालिका–५ धरमपुरको सरस्वती माध्यमिक विद्यालयका भूतपूर्व प्रधानाध्यापक जयदेव वडूको बिदाइको दृश्य यस्तै थियो।
३४ वर्षे शिक्षण जीवनबाट अवकाश लिएका उनको मंगलबार विद्यालयमा बिदाइ गरिएको हो।
जीवनको उर्जाशील २७ वर्ष वडूले सरस्वती माध्यमिक विद्यालयमा बिताए। २२ वर्ष प्रधानाध्यापकको भूमिका रहेका उनी ‘हेड सर’को उपमाले पनि चिनिन्छन्।
शिक्षाका माध्यमबाट विद्यार्थीलाई असल मान्छे बन्न प्रेरित गर्न मात्रै होइन्, उनको कुशल नेतृत्वमा विद्यालयले विकासमा अद्धभुत फड्को मा-यो।
त्यसैले उनको बिदाइको समयमा एकछिन विद्यार्थी, अभिभावक र शिक्षक भावुक बने। विद्यालयमा बिदाइ कार्यक्रमपछि बाजागाजासहित गाउँ परिक्रमा मात्रै गराएनन्। शिक्षक वडूलाई अभिभावकले काँधमै चढाएर घर पु-याए।
‘मर्दा पैसा लगेर जाने होइन। मैले शिक्षणबाट पैशा कमाएन। यत्रो माया कमाएको रहेछुँ, आज थाहा भयो’ बिदाइ कार्यक्रममा बोल्दै वडूले भने, ‘यो माया मुटुभित्र बसेको छ। अवकाशमा गएपनि विद्यालयको विकासमा सहयोग रहने नै छ।’
बेदकोट नगरपालिका–७ गाउजीका स्थायी बासिन्दा वडू वि.सं. ०४८ सालमा शिक्षण सेवामा प्रवेश गरेका थिए। उनले गाउजी, पुनर्वास र बेलडाँडीका विद्यालयमा पनि ७ वर्ष अध्यापन गराए।
वि.सं. २०५१ सालमा स्थापना भएको सरस्वती माध्यमिक विद्यालयमा सुरुमा भौतिक संरचना थिएनन्। खरको झुप्रोमा बसेर विद्यार्थी पढ्थे।
वि.सं. २०५४ भाद्र ३१ गते विद्यालयमा आएका थिए, वडू। कयौँ वर्ष दरबन्दीका एक्ला शिक्षकका रुपमा रहे। विद्यालय व्यवस्थापन समितिका संस्थापक अध्यक्ष स्वर्गिय ललित बहादुर आलेसंग सहकार्य गर्दै वडूले विद्यालयको शैक्षिक र भौतिक विकासमा महत्वपूर्ण योगदान गरे।
विद्यालयलाई खरको झुप्रोबाट उठाएर कक्षा १० को अध्यापन गराउनसम्म पु¥याउने मध्येका एक पात्र वडू पनि हुन।
उनकै नेतृत्वमा थुप्रै भौतिक संरचना थपिएका छन्। सुरुवाती चरणमा शिक्षक वडूले आफ्नो तलबबाट विद्यालयका शिक्षकलाई तलब खुवाएको पनि स्थानीय स्मरण गर्ने गरेका छन्।
२७ वर्षको उमेरमा विद्यालयमा शिक्षकको रुपमा आउँदा विद्यालयका संस्थापक व्यवस्थापन समिति अध्यक्ष स्वर्गिय ललित बहादुर आलेले आफूलाई सिकाएको वडू सम्झन्छन्।
विद्यालयको शैक्षिक गुणस्तर सुधारका क्षेत्रमा उल्लेख्य योगदानमा वडूले व्यवस्थापन समितिका पूर्व अध्यक्ष अमर बोगटी बताउँछन्। ‘भौतिक निर्माण र शिक्षाको क्षेत्रमा निकै योगदान गर्नुभयो। उहाँको बोली सबैलाई मन पर्ने हो। जस्तो सुकै मान्छे भएपनि उहाँमा मिलाउने क्षमता थियो,’ उनले भने।