दोदा नदीमा पक्की पुल : ठेक्का लागेको ९ वर्षपछि निर्माण सुरु

प्रकाशित:

कञ्चनपुर। जिल्लाको देखतभुली पर्सिया सडक अन्तर्गतको दोदा नदीमा पक्की पुल निर्माण कार्यले गति लिएको छ। ठेक्का सम्झौता भएको ९ वर्षपछि पुल निर्माण अगाडि बढेको छ।

२०७२ पुस २६ गते लुम्बिनी-राजेन्द्र-कुमार-श्रेष्ठ जेभीसँग पुल निर्माणका लागि २४ करोड २२ लाख ५७ हजारमा ठेक्का सम्झौता भएको थियो।

ठेक्का सम्झौताअनुसार निर्माण व्यवसायीले काम गर्न नसक्दा पुल निर्माणको काम अलपत्र परेको थियो। पुलका तीनवटा पिलर खडा गरे पनि ‘पाइल टेष्ट’मा फेल हुँदा काम अघि बढ्न सकेको थिएन।

‘त्यही अवस्थामा पुल निर्माणको काम अगाडि बढाउन सकिने अवस्था थिएन’, सडक डिभिजन कार्यालय महेन्द्रनगरका सूचना अधिकारी हरिशप्रसाद जोशीले भने, ‘मर्मत गर्न सकिने अवस्था पनि भएन, पुलको डिजाइन नै ‘रिभ्यू’ गरेर निर्माण अहिले अगाडि बढाएका छौँ।’

लागत नबढ्नेगरी पुलका पिलरको फाउण्डेसनको ‘डायमिटर’ बढाएर कार्य अगाडि बढाइएको उनको भनाइ छ। पहिलेको डिजाइनअनुसार पुलको डायमिटर ८० सेन्टिमिटर थियो भने अहिले बढाएर १२० सेन्टिमिटर राखिएको छ।

पुलको भौतिक प्रगति ५० प्रतिशत पुगेको छ। २०८२ माघ २० गतेसम्म पुल निर्माण पूरा गरिसक्ने गरी म्याद थप गरिएको छ। पुलको लम्बाइ दुई सय ११ मिटर रहेको छ भने चौडाइ ११ मिटर छ।

ठेक्का सम्झौताअनुसार जेभीमा आबद्ध राजेन्द्र निर्माण सेवाले काम गर्न नसकेपछि अहिले जेभी पार्टनर कुमार श्रेष्ठले कार्य गरिरहेको छ। पुल निर्माणका लागि पहिला दिएको भुक्तानी रू १२ करोड बैंक धरौटीबाट असुलउपर गरिएको छ।

निर्माण कम्पनीले १० करोड रुपैयाँ जतिको कार्य पूरा गरेको सूचना अधिकारी जोशीले बताए। निर्माणअनुसार पहिलो ‘रनिङ बिल’को भुक्तानी दिन काम अघि बढाइएको छ। बजेट अभावले भुक्तानी दिन ढिलो भइरहेको उनको भनाइ छ।

लालझाडी गाउँपालिका र शुक्लाफाँटा नगरपालिकाका बासिन्दाले हिउँदयाममा नदीमा अस्थायी राखिने काठको पुलमा शुःल्क तिरेर तर्दै आएका छन्। वर्षात्का बेला बाढीमा नदी जोखिम मोलेर तर्नुपर्ने बाध्यता छ।

पुल निर्माणले गति लिएपछि विगतको जोखिम मोलेर र शुःल्क तिरेर नदी तर्नुपर्ने अवस्थाको अन्त्य हुने शुक्लाफाँटा नगरपालिका- १२ का वडाध्यक्ष नवलसिंह रानाले बताए।

‘पुल निर्माण बिचमा छाडेर निर्माण व्यवसायी बेखबर भएपछि पुल बन्ने आश छाडेका थियौँ’ उनले भने ‘अहिले पुल निर्माणको कार्य द्रुत गतिमा अगाडि बढेकाले बन्ने आशा पलाएको छ, वर्षौैँदेखिको नदीमा जोखिम मालेर तर्नुपर्ने अवस्था अन्त्य हुने विश्वास छ।’

ताजा समाचार

सम्बन्धित समाचार