काठमाडौं। नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले भीम रावलले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई लगाएको ७४ बुँदे आरोप २०७७ सालमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले लगाएका १९ पेजकै कपीपेस्ट भएको बताएका छन्।
बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालयको बैठकपछि ज्ञवालीले रावलले बुधबार पत्रकार सम्मेलन गरेर दिएका अभिव्यक्ति सुनेर समाजले उनीभित्र कति नकारात्मकता रहेछ भनेर बुझेको प्रतिक्रिया दिए।
‘२०७७ सालमा पुष्पकमल दाहाल प्रचण्डले लगभग यिनै भाषमा नेकपाका तत्कालीन अध्यक्ष तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई यस्तो खालका टिप्पणी गर्नुभएको थियो। यस्तै खालको आरोप लगाउनुभएको थियो। लगभग १९ पेजको थियो। बुँदाहरू कति थिए, मैले बिर्सिएँ। एक किसिमले कपी पेस्ट जस्तै हो। नयाँ कुरा केही छैन। दोस्रो उहाँभित्र कतिधेरै नकारात्मकता भरिएको रहेछ। प्रष्ट भएको छ, समाज आफैं प्रष्ट भएको छ,’ उनले भने।
उनले गालीगलौजले देश नबन्ने बताए। एक जमानामा बाबुराम भट्टराई र प्रचण्डहरूले पनि शब्दकोशमा भेट्टाएजत्ति शब्दले गाली गरेको बताए। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पनि गालीबाटै उदाएको उनले बताए।
‘गालीले देश बन्ने भए एक जमाना थियो, बाबुराम भट्टराई, प्रचण्डजीहरू शब्दकोशमा भएजत्ति शब्दहरू खोजीखोजी गाली गर्नुहुन्थ्योे। अर्को अवस्था आयो रवीजीहरू त्यसैगरी उदाउनुभयो। ३१ पृष्ठमा ३० पाना र एक प्यारा गालीगलौज, पौनो एक प्यारामा अभियान चलाउँछु भनेर भनिसकेपछि हामीले छलफल गरिरहनुपरेन। अपेक्षित हो। त्यही भएर पार्टी उहाँको सदस्यता नरहने निष्कर्षमा पुगेको हो,’ उनले भने।
आजको बैठकले पार्टी अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन पारित गरेको उनले बताए। एमालेको केन्द्रीय कमिटी बैठक आगामी आइतबार र सोमबार बस्दैछ। त्यसैमा प्रस्तुत हुने प्रतिवेदन आज पारित भएको हो। आजको बैठकले सरकारको ६ महिने कामको समीक्षा गरेको उनले बताए।