भीम रावलले तत्कालै पार्टी घोषणा नगर्ने, वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्न अभियानमा निस्कने

प्रकाशित:

काठमाडौँ। नेकपा एमालेबाट निष्कासित पूर्वउपाध्यक्ष भीम रावलले तत्कालै नयाँ पार्टी घोषणा नगर्ने भएका छन् ।

झण्डै पाँच दशक सक्रिय रहेको पार्टीको कारबाहीमा परेपछि बुधबार पत्रकार सम्मेलनमार्फत आफ्नो धारणा राखेका उनले देशभक्तिपूर्ण वैकल्पिक राजनीतिक शक्ति निर्माण अपरिहार्य रहेको बताएका छन् ।

गैरवामपन्थी एवं राष्ट्रवादी धारको नयाँ दलको गृहकार्य थालेका रावलले पत्रकार सम्मेलनमा त्यसबारे प्रस्ट धारणा राखेनन् । बरु, पूर्वदेखि पश्चिमसम्म जागरण अभियान सुरु गर्ने संकेत गरेका छन् । त्यो अभियानलाई उनले मातृभूमि जागरण अभियान नाम दिएका छन् ।

‘मातृभूमि जागरण अभियान सञ्चालन गरी देश र जनताको हक र हितका लागि सबै देशभक्त इमानदार शक्ति, व्यक्ति र समुदायलाई एकताबद्ध गर्नुपर्छ । देश र जनताले भोगिरहेका समस्या समाधान र चुनौतीहरूको सामना गर्दै स्वाधीन, स्वतन्त्र र स्वाभिमानी नेपाललाई पुनर्जागरणको दिशामा अगाडि बढाउनुपर्छ,’ नेता रावलले भने ।

देश र जनताको सर्वोपरी हितमा हुनुपर्ने राजनीति तथा सरकार पदको भागवण्डा र निहित स्वार्थको साधनमा झारिएकोप्रति असन्तुष्टि पोख्दै उनले सोही कारण देश कमजोर भइरहेको टिप्पणी गरेका छन् ।

‘सुशासन र जनताको हितमा तल्लीन हुनुपर्थ्यो । तर, आफ्नै घोषित सिद्धान्त, नीति र लक्ष्यका साथै नेपालको संविधानको मार्ग निर्देशनलाई समेत अवमूल्यन गरी केपी ओली गुटले एमालेलाई दिशाहीन बनाउनुका साथै राष्ट्रिय राजनीति नै सिद्धान्तहीन, गन्तव्यहीन र आदर्शहीन बाटोमा धकेलिएको छ । एमालेको रंग खुइलिएर बामाले (बाको मात्र नाम लेउ) मा परिणत भएको छ भन्नुपर्दा अत्यन्त दुःख लाग्छ,’ पत्रकार सम्मेलनमा रावलले भनेका छन्, ‘अन्य कतिपय दलहरू पनि सोही बाटोमा हिँडिरहेका छन् । स्वाधीनता, स्वाभिमान, हितको रक्षा र सम्बर्द्धन तथा जनताका आवश्यकता र आकांक्षा पूरा गर्ने बाटोमा राज्यलाई डोर्‍याउन देशभक्तिपूर्ण भावना र चेतले युक्त जनमत र सरकारको आवश्यकता छ । यसको लागि राष्ट्रव्यापी अभियान चलाउनुपर्छ ।’

विधि, पद्धति, प्रणाली र सुशासनको बाटोमा निस्वार्थ रूपमा दृढताका साथ हिँड्नु पर्ने उल्लेख गर्दै रावलले देश र जनतासँग सम्बन्धित समग्र विचार, कार्यक्रम, नीति तय गर्दै देश र प्रवासमा अभियान सञ्चालन गर्ने बताएका छन् । साथै, देशभक्तिपूर्ण वैकल्पिक राजनीतिक शक्तिको निर्माण अपरिहार्य बनेको उल्लेख गर्दै नयाँ दल गठनबारे उनले भनेका छन्, ‘यसैतर्फ हाम्रो पाइला र प्रयासहरू अगाडि बढ्ने छन् ।’

ताजा समाचार

सम्बन्धित समाचार